काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार रातिदेखि लागू हुनेगरी आयल निगमले पेट्रोलका साथै डिजेल र मट्टीतेलको मूल्य बढाएको हो। प्रत्येक १ र १६ तारिखमा भारतीय आयल कर्पोरेसनले मूल्यसूची पठाएसँगै समायोजन गर्ने गरेको आयल निगमले यो समयअगावै मूल्य बढाएको हो। अहिले मूल्य बढाउन आगामी वर्षको बजेटमा पेट्रोलमा सरकारले कर बढाउने निर्णय गरेको हो। सरकारले कर साउन १ गतेदेखि लागू हुनेगरी मूल्य बढाउने जनाए पनि आयल निगमले जेठ १५ गते रातिबाट लागू हुनेगरी मूल्य बढाएको हो। आर्थिक ऐनअनुसार बजेटले समायोजन गरेका कतिपय करहरू सोही रातिदेखि लागू गर्नुपर्ने भएको कारणले मूल्यसमायोजन गरिएको आयल निगमका अधिकारीले बताएका छन्। बुधबार रातिदेखि आयल निगमले सरकारले बढाएको करको आधारमा पेट्रोल डिजेल र मट्टीतेलमा डेढ रुपैयाँ कर बढाएको हो। जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य ९८ रुपैयाँ ५० पैसा पुगेको छ।
१६ जेष्ठ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया