११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

अपहरणपछि बालकको हत्या गर्ने पक्राउ



वीरगञ्ज ।
आठ वर्षीय बालकको अपहरणपछि फिरौती माग्ने र हत्या गर्ने तीन जनालाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।
प्रहरीले वीरगञ्जबाट बालकको अपहरणपछि हत्या गर्ने भारत घर भई वीरगञ्जको प्रगतिनगरमा डेरा गरी बस्ने २१ वर्षीय विकाश शर्मा, बाराको कलैया उप महानगरपालिका वडा नं.११ बस्ने २२ वर्षीय सिकेन्द्र साह तेली र बाराको खपरताता बस्ने २१ बर्षीय राम विनेश महतोलाई पक्राउ गरेको हो ।
उनीहरु तीनैजनाले वीरगञ्जको प्रगतिनगरका शम्भु साहको ८ वर्षीय छोरा करण साहको गएको शुक्रबार आफनै घर नजिकै खेलिरहेको अवस्थामा अपहरण गरेका थिए ।
बालकको अपहरण पश्चात उनीहरुले मोबाईल फोनबाट ३० लाख फिरौती माग गरेका थिए । तीनै जनालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।
उनीहरुले बालकको हत्या गरी कलैया उप महानगरपालिका वडा नम्बर २५ स्थित खौराही खोलामा फालेको बयान प्रहरीलाई दिएका छन् ।
प्रहरीलाई झुक्याएर भाग्न खोजेपछि गोली प्रहार गरेर पक्राउ गरिएकोे प्रहरीले जनाएको छ । प्रहरीले चलाएको गोली लागेर अपहरणकारी विकाश शर्मा र सिकेन्द्र साह घाइते भएका छन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा अपहरणमा संलग्न लगन विकाश शर्मा पीडित शम्भु साहको छिमेकी रहेको खुलेको छ । प्रहरीका अनुसार शर्मा र साहको बेलाबेलामा झगडा हुने गरेको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६ बुधबार ००:००  १ : १० बजे