११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

नीति कार्यक्रमले सत्तापक्ष र प्रतिपक्ष भनेको छैन्, मिलेर काम गरौं : सांसद पन्थी



मायादेवी अनलाइन बुटवल ।
प्रदेश ५ का सासंद विष्णु पन्थीले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको जिकिर गर्नुभएको छ । सरकारले आ.व. ०७६÷७७ का लागि हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रम विगतको भन्दा परिष्कृत र राम्रो भएको सांसद पन्थीले जिकिर गर्नुभएको हो ।
नीति तथा कार्यक्रम माथि आफ्नो धारणा राख्दै उहाँले नीती तथा कार्यक्रम कसले र कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा स्पष्ट निर्देशन गरेको भन्दै कोही अलमलमा पर्नुको कारण नभएको बताउनुभयो । सरकारले सरकारी, निजी र सहकारीलाई तीन खम्बे अर्थनितीको रुपमा हेरेको भन्दै नीति तथा कार्यक्रमले यसलाई समेटेको दाबी गर्नुभयो ।
आर्थिक विज्ञका रुपमा चिनिने सांसद पन्थीले प्रदेश सरकारले आर्थिक बृद्धिदर बढाएकोमा खुसी व्यक्त गर्नुभयो । प्रदेश सरकारले आर्थिक बृद्धिदर बढाएर ७.५ प्रतिशत पु¥याएको छ, उहाँले भन्नुभयो, “यो आफैमा राम्रो कुरा हो ।”
प्रदेशको विकासमा सत्ता पक्ष र प्रतिपक्ष हुन नहुने भन्दै सबैको सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । विकासलाई हेर्दा पहुँच र बलियाको बढी प्रभाव देखिएको स्मरण गर्दै यो बर्ष आवश्यकता, लागत, समय, प्रतिफलको आधारमा बजेट र कार्यक्रम संचालन गर्दा प्रभावकारी हुने बताउनुभयो ।
विकास पक्रिया क्षेत्रियता, सामाजिक न्यायको सिद्धान्त, सुन्तुलित विकासको सिद्धान्तमा आधारित भई सबै वर्ग र समुदायको प्रतिनिधित्व हुनुपर्ने कुरामा जोड दिनुभयो । प्रदेशका हरेक शहर व्यवस्थित र नयाँ बनाउनुपर्नेमा सांसद पन्थीको धारणा थियो ।
सांसद पन्थीले ५ नं. प्रदेशको विकास अरु प्रदेशले भन्दा बढी गरेको देखाउनुपर्नेमा जोड दिनुभयो । कुन प्रदेशको काम कस्तो छ भन्ने कुरा ‘पूजीगत खर्चको लेखाजोखा, आर्थिक सुशासन र पारदर्शीता, जनसहभागीता जस्ता विषय समेटिन्छन’ उहाँले भन्नुभयो, “यस तर्फ सरकारले विशेष ध्यान दिनुपर्छ ।”
भैरहवामा निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थल छिट्टै संचालन गरिनुपर्ने बताउदै यसले प्रदेशको विकासमा महत्वपूर्ण टेवा पुग्ने धारणा राख्नुभयो । प्रदेश ५ बुद्धस्थलले भरिपूर्ण स्थल भएकोले यो विमानस्थल निर्माण भएपछि पयर्टनले फड्को मार्नेमा आशा व्यक्त गर्नुभयो । अर्थतन्त्रको मेरुदण्ड यातायात रहेकोले वर्दघाट देखि चिसापानी सम्मको राजमार्ग चौडा पार्न केन्द्र सरकार संग पहल गर्दै प्रदेश सरकारले विशेष महत्व दिनुपर्ने बताउनुभयो ।
‘मुख्यमन्त्री हाम्रो लागि नयाँ पद र प्रदेशको पहिचान हो, उक्त पदले समग्र प्रदेशको नेतृत्व गर्दछ,’ उहाँले भन्नुभयो, ‘मुख्यमन्त्रीको नामबाट संचालित ग्रामीण विकास नौलो भएको भन्दै अरु कार्यक्रम पनि सञ्चालन गर्नुपर्छ’ । हाम्रा ऐन, नियम, कानुन, कर्मचारीतन्त्र, अन्य जटिल प्रकृयाले विकासमा बाधक पुर्याएको छ सांसद पन्थीले भन्नुभयो, ‘यसलाई अत्यन्तै सरल र सेवाग्राही मैत्री बनाउन नयाँ सोचका साथ अघि बढ्नुपर्छ ।’ देशका विद्यमान गरिबी, पछौटेपन, अशिक्षा र बेरोजगारी हाम्रा साझा शत्रु भएको उहाँको धारणा थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६ मंगलबार ००:००  ७ : २२ बजे