११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कांग्रेस नेता सिटौला भन्छन्ः सरकारको एक वर्षे कार्यकाल सन्तोषजनक भएन्



विराटनगर ।
दुई तिहाइ बहुमतको नेकपा सरकारको एकवर्षे कार्यकाल सन्तोषजनक नरहेका नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले बताएका छन्। विराटनगरमा मङ्गलबार नेपाल प्रेस यूनियन मोरङद्वारा आयोजित पत्रकार सम्मेलनका क्रममा नेता सिटौलाले भने, “चौतर्फी बम बिस्फोट, असुरक्षा, न्यायालयमाथिको हस्तक्षेप, अर्थतन्त्रको अवस्था हेर्दा सरकारको काम प्रगतिउन्मुख भएको मान्न सकिन्न।”
उनले भने “सरकारको एकवर्षे कार्यकाल हेर्दा सुशासन, राजनीतिक, आर्थिक सबै क्षेत्रमा फितलो रह्यो। सरकारको गतिवीधि जनताले प्रत्यक्ष रुपमा अनुभूत गर्न पाएका देखिएन।”
आइतबार बम बिस्फोटमा परि चारजनाको ज्यान गएको र सोमबार मुलुकका विभिन्न स्थानमा बम भेटिएको सन्दर्भमा नेता सिटौलाले भने, “सरकार र आन्दोलनरत विप्लवबीचको काम गराईले जनता प्रताडित छन्। दुवैको गतिविधि जनता र देशको हित विपरित रहेको छ।”
नयाँ ढंगबाट हिंसा आतंक सुरु भएको बताएका नेता सिटौलाले विप्लव समूहलाई शान्तिपूर्ण ढंगबाट अघि बढ्न सुझाव दिए। उनले भने, “हिंसा त्याग्नुस्। संवाद र वार्ताबाट समस्याको निकास खोज्नुस। यसैले देश र जनताको भलो गराउने छ।”
सरकार र विप्लव दुवैपक्ष समस्या समाधानतर्फ अग्रसर नभएको बताएका उनले भने, “हिजो १७ हजारको मृत्यु, हजारौँ अपाङ्ग, बेपत्ताको अवस्था सृजना भयो र अब फेरि हामी त्यतै लम्कदैछौँ। अब पुनः नेपालीको रगत बग्न थालेको छ।”
सञ्चारकर्मीले कांग्रेसको राष्ट्रिय जागरण अभियान बेमौसमी बाजा भएको प्रश्न राखिरहदाँ नेता सिटौलाले राष्ट्रिय जागरण अभियान सकारात्मक सन्देश दिन सफल भएको भन्दै बचाउ गरे।

प्रकाशित मिति : १४ जेष्ठ २०७६ मंगलबार ००:००  ११ : ५८ बजे