दाङ ।
जातीय रोगको रुपमा रहेको सिकलसेल एनिमियाका बिरामीका लागि नियमित खाने औषधि दाङमा अभाव देखिएको छ । दुई महिनादेखि औषधि जिल्लामा छैन । पश्चिम नेपालका तराई क्षेत्रमा रहेका थारु जातीमा देखिएको बंशानुगत रोग सिकलसेल एनिमियाको उपचार गराइरहेको दाङका एक सय ६५ जना बिरामीले दुई महिनादेखि औषधि पाएका छैनन् ।
दाङमा सिकलसेल एनिमियाको औषधि अभाव हुँदा बिरामी मारमा परेका छन ्। दाङमा सिकलसेलको औषधिको व्यवस्थापन र वितरणको जिम्मा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले (साविक राप्ती उपक्षेत्रीय अस्पताल घोराही) गरेको छ ।
विगत ५÷६ महिनादेखि नै सहज रुपमा औषधि नपाएको दाङ तुलसीपुरका सिकलसेल एनिमियाका बिरामी जीतबहादुर चौधरीले बताउनुभयो । ’दाङमा औषधि नपाउँदा अस्पतालबाट निशुल्क रुपमा पाइने औषधि लिन हजारै खर्च गरेर भारत जानुपर्ने बाध्यता रहेको छ ।’
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत सिकलसेल एनिमियाका बिरामीलाई वर्षमा एकलाख बराबरको निःशुल्क औषधि वितरण हुँदै आएको छ । तर लामो समयदेखि औषधि नपाउँदा अहिले धेरै बिरामीले औषधि नखाएरै बसिरहेका छन् ।
दैनिक खाइरहनुपर्ने औषधि नपाएपछि दुई महिनादेखि औषधि नखाएर दिन कटाएको सिकलसेल एनिमिया बिरामी रुपा चौधरीले बताइन् । औषधि नखादा हातखुट्टाका जोर्नी दुख्ने, शरीर दुख्ने हुँदा कुनै पनि काम गर्न नसकिने रुपको भनाई छ ।
प्रतिष्ठानमा नेपालगंजबाट सिकलसेल एनिमियाको औषधि आउने भएपनि पछिल्लो समय औषधि नेपालगंजमा नै अभाब भएपछि दाङले पनि अभाव खेप्नु परेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताउनुभयो । यो औषधिको खरिद सरकारले मात्रै गर्ने भएकाले आफूहरुले चाहेर पनि औषधि ल्याउन नसकिएको प्याकुरेलको भनाई छ ।
दाङमा एकलाख ३७ हजार थारुको जनसंख्या छ । यसको १५ प्रतिशतमा सिकलसेल भएको हुनसक्ने यस अघिको अध्ययनले देखाएको थियो ।
१३ जेष्ठ २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया