११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

नेकपाको बन्द खुल्यो, जनजीवन सहज बन्दै



मायादेवी अनलाइन, वाणगंगा ।
डर, त्रास र आतंकका बीच भएको नेपाल बन्द सोमबार साँझ देखि फिर्ता भएको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्द साँझ देखि फिर्ता भएको हो । सरकारले नेकपालाई राजनीतिक गतिविधि गर्न प्रतिबन्ध लगाएको छ । नेकपाका पछिल्लो समय देखाएको गतिविधि संविधान विपरित भएको ठहर गर्दै सरकारले प्रतिबन्ध लगाएको हो । सरकारले विप्लवका सयौं नेतालाई पक्राउ गरिसकेको छ भने कतिपय स्थानमा विप्लव र सुरक्षाकर्मी बीच दोहोरो झडपको स्थिती सिर्जना भएको छ । यहि बखतमा यसै हप्ता विप्लवका एक कार्यकर्ता सुरक्षाकर्मी संगको दोहोर झडपमा मारिएका थिए ।
यसैको विरोध स्वरुप नेकपाले सोमबार देशभर नेपाल बन्दको आयोजना गरेको थियो । सोमबार बन्द आयोजना गरिएको भएपनि नेकपाले बन्दको पूर्व सन्ध्यामै बम पड्काएर जनजीवनलाई प्रभावित पारेको थियो । आइतबार साँझ कपिलवस्तुका केही स्थानमा बम पड्काइएको थियो । यद्यपि बम पड्किएको आवाज सुनिएपनि कुनै क्षति भएन ।
बन्दको प्रभाव विहानै देखि कपिलवस्तुमा पनि परेको छ । विप्लवको गृह जिल्लाको रुपमा चिनिएको कपिलवस्तुमा बन्दको प्रभाव परेको हो । विगतका बन्दमा जिल्लाको दक्षिणी क्षेत्रमा बन्दको प्रभाव शुन्य जस्तै भएपनि आजको बन्द आंशिक रुपमा परेको थियो । जिल्लाका दक्षिणी क्षेत्रका कृष्णनगर, बहादुरगञ्ज, महाराजगञ्ज जस्ता बजार आंशिक रुपमा खुलेका थिए ।
विप्लवका गतिविधिले जनतामा त्रास सिर्जना गरेको कारण सोमबारको बन्द पूर्ण रुपमा परेको नागरिक अगुवाहरु बताउँछन् । बन्दको कारण जिल्लाका उद्योगधन्दा, शैक्षिक संस्था पूर्ण रुपमा बन्द भए । पूर्व पश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल र रिक्सा छिटफुट रुपमा सञ्चालन भएपनि अरु सवारीसाधन सञ्चालन हुन सकेनन् । सडकमा सवारी साधन नचल्दा यात्रुहरुलाई सास्ति भएको देखिन्थ्यो । चर्को गर्मीमा कतिपय यात्रुहरु पैदल हिडेरै गन्तव्यमा पुगेका थिए । नेकपाले बन्द आयोजना गरेपनि कार्यकर्ता सडकमा देखिएका थिएनन् । ठाउँ ठाउँमा सुरक्षाकर्मी तैनाथ पारिएको थियो ।
यता बन्दको त्रास देशैभर परेपनि कपिलवस्तुमा बन्द शान्ती पूर्ण भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बन्दको बेला कपिलवस्तुमा कुनै अप्रिय घटना भएन । बन्द साँझ देखि खुलेको छ । बन्द खुले संगै सडकमा चहलपहल बढ्न थालेको छ भने बाटैमै विचल्लीमा परेका यात्रुहरु गन्तव्यमा जान थालेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६ सोमबार ००:००  ६ : ४५ बजे