काठमाडौं ।
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको समूहले जनसेनाको नाममा ४ वटा कम्पनी सैनिक दस्ता तयार पारेको तथ्य बाहिर आएको छ ।
संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव नेतृत्वको नेकपाले जनसेनाको रुपमा ४ कम्पनी निर्माण गरेको बताएका हुन् ।
‘केही समययता नेकपा विप्लव भन्ने समूहले संविधान र राज्य व्यवस्थाको विरुद्ध गैरकानूनी, संविधान विरोधी र शान्ति विरोधी गतिविधिहरु गर्दै आएका छन्,’ सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री थापाले भने, ‘उनीहरुले जनसरकारको रुपमा जनपरिषद भन्ने संस्था गठन गरेका छन््, जनसेनाको रुपमा उनीहरुले ४ कम्पनी अहिले निर्माण गरेका छन् ।’
विप्लव नेतृत्वको नेकपा विगत केही वर्षदेखि सशस्त्र गतिविधिमा संलग्न रहेको पनि बताए ।
गृहमन्त्री बादलले आइतबार राजधानीका विभिन्न ठाउँमा भएका विस्फोटमा परी ४ जनाको ज्यान गएको विषय पनि संसदलाई जानकारी गराए ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा शुन्य समयमा बोल्ने अधिकांश सांसदले राजधानीमै बम विस्फोट हुँदा ४ जनाको हत्या, पाँचथर र दार्चुलामा भएका घटनाले सरकार शान्ति सुरक्षा कायम गर्न असफल रहेको भन्दै आलोचना गरेका थिए ।
प्रतिक्रिया