११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

विप्लवको गृहजिल्ला कपिलवस्तुमा बन्दको प्रभाव कस्तो छ ?



मायादेवी अनलाइन, वाणगंगा ।
नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित बनेको छ । सरकारले प्रतिबन्ध लगाएको पार्टीले गरेको नेपाल बन्द आफैमा आक्रमक भएको छ । बन्दको पूर्वसन्ध्यामा देशभर भएका बम आतङ्कले जनता त्रसित भैरहेका छन् ।
बन्दको प्रभाव कपिलवस्तुमा पनि विहानै देखि परेको छ । बुद्धको जन्मभूमि समेत रहेको कपिलवस्तुमा नेकपाले गरेको बन्दको प्रभाव परेको हो । आइतबार साँझ जिल्लाका विभिन्न स्थानमा बम पड्किएका आवाज सुनिए पनि सोमबार विहान सम्म कुनै त्यस्ता अप्रिय घटना घटेका छैनन् ।
विप्लवको गृह जिल्ला समेत रहेको कपिलवस्तुमा बन्दको प्रभाव आशिंक रुपमा पर्दै आएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा बन्दको प्रभाव खासै पर्दैन । मधेसी समुदायको बाहुल्यता रहेको कृष्णनगर, बहादुरगञ्ज, महाराजगञ्ज जस्ता बजारमा बन्दको प्रभाव सामान्य छ । यहाँ विहानै देखि पसलहरु सञ्चालन भैरहेका छन् भने साना सवारी-साधन सञ्चालनमा छन् ।
सदरमुकाम तौलिहवा र मुख्य व्यापारिक केन्द्र चन्द्रौटामा बन्दको प्रभाव देखिन्छ । यहाँका पसल, व्यवसायहरु छिटफुट रुपमा सञ्चालनमा आएपनि पूर्णतया बन्द छन् । यस्तै मध्यम बजार इमिलिया, गोरुसिंगे, बनगाई, बोडगाउँमा पनि बन्दको प्रभाव परेको देखिन्छ ।
यता कपिलवस्तुको प्रमुख बजार चारनम्बरमा बन्दको प्रभाव सामान्य जस्तो छ । यहाँ बन्द निषेधित क्षेत्र घोषणा भएको स्थान हो । विगतमा देशभर बन्दको प्रभाव पर्दा यस क्षेत्रमा बन्दको प्रभाव नपरेको उदाहरण छ । यद्यपि सबै पसल व्यवसाय सञ्चालन नभए पनि केही पसल सञ्चालनमा छन् भने मोटरसाइकल, रिक्सा लगायतका सवारी-साधन चलेका छन् ।

बन्दको प्रभाव शैक्षिक संघ-संस्थामा पनि परेको छ । जिल्लाका अधिकांश शैक्षिक संस्था बन्द छन् ।
विप्लवको गृहजिल्लाको रुपमा रहेको कपिलवस्तुमा बन्द शान्तिपूर्ण रुपमा हुँदै आएको विगतको नजिर छ । विप्लव संगै प्रभावशाली नेता चन्द्र बहादुर चन्द ‘विरजंग’को गृह जिल्ला पनि यही छ । तर, जिल्लामा नेकपाले गर्ने बन्दमा कुनै अप्रिय घटना घटेको छैन । विगतमा हुँदै आएका बन्दमा पनि त्यस्ता घटना नघटेको उदाहरण छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६ सोमबार ००:००  ९ : १७ बजे