१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बालमैत्री स्थानीय शासन कार्यान्वयनमा वाणगंगा तात्दै


१२ जेष्ठ २०७६ आइतबार ००:००  

0
Shares

मायादेवी अनलाइन चारनम्बर ।
बाणगंगा नगरपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन सम्बन्धी सरोकारवालासंग छलफल गरेको छ । नगरपालिकाले आइतबार बालमैत्री स्थानीय शासनका सूचक सरलीकरण तथा बालमैत्री आचार संहिता निर्माण गर्दै हालसम्मको प्रगती समिक्षा गरेको छ । ११ वटै वडाको वडागत समिक्षा गर्दा बालमैत्री स्थानीय शासनका आधारभूत सूचकहरुमा सन्तोषजनक काम नभएको बताइएको छ । नगरपालिकाको विगतका निर्णयहरु कार्यान्वयन नहुँदा बालमैत्री स्थानीय शासन कार्यान्वयन प्रकृया सोचे अनुसार अगाडी बढ्न नसकेको हो । वडाहरुमा बाल संजाल गठन, वडा बाल संरक्षण समिति गठन र नियमित वैठक, विद्यालय व्यवस्थापन समितिमा बालबालिकाको प्रतिनिधित्व लगाएतका विषयमा समिक्षा गरिएको थियो । नतिजामुखी कार्ययोजना अनुसार नगरपालिकाले आफनो कार्यलाई अघि बढाउनुपर्ने राष्ट्रिय सहजकर्ता विष्णु प्रसाद चौवेले जानकारी दिए । बालमैत्री स्थानीय शासनका सहजकर्ता चौवेले निती संरचना, कार्य प्रकृया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धती नै बालमैत्री स्थानीय शासन भएकाले जनप्रतिनिधी, नगरपालिका र अन्य सेवा प्रदायक निकाय जिम्मेवार हुनुपर्ने बताए ।
यसअघि नगरपालिकाले २०७७ आश्विन भित्र नगरलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रतिवद्धता गरेको छ । जसअनुसार नगरपालिकाले सवै वडाहरुमा बालमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले बताए । उनका अनुसार वाणगंगा नगरपालिकाको वडा नम्बर ११ बाट बालमैत्री स्थानीय शासन कार्यान्वयनको प्रकृया अगाडी बढाउदै सवै वडामा कार्य प्रकृया शुरु हुनेछ ।
कार्यक्रममा वाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले नगरपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा तदारुकता देखाउने बताए । उनले अवका दिनमा ढिलो नगरी नगरपालिकालाई बालमैत्री बनाउन आवश्यक कदम चालिने बताए । कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, विषयगत शाखा, विद्यालय व्यवस्थापन समिति, प्रअ, बालक्लव, स्वयंसेविका लगाएतको उपस्थिती थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७६ आइतबार ००:००  ६ : ५६ बजे