मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा २ लखनपाराको सडक निर्माणको लागि प्रदेश सरकारले विनियोजन गरेको बजेटमा ठुलो चलखेल भएको भन्दै सर्वसाधारण आक्रोशित भएका छन् । प्रदेश बजेट अनुसार वाणगंगा न.पा. २ अन्तर्गत पर्ने लखनपारा गाउँको पश्चिम क्षेत्रबाट वार्ड नं ३ को भक्तौली गाउँमा जोडिन जाने बाटोको लागि आर्थिक बर्ष २०७५ । ७६ मा निकासी भएको १ करोड ३१ लाख बजेट विनियोजन भएको थियो । तर सो बजेटलाई राजनैतिक पहुँचको आडमा जनतालाई गुम्राहमा पारेर बाणगंगाकै तिनइयामा सार्न थालिएपछि आइतबार सर्वसाधारणले बाणगंगाा नगरपालिकाकामा ज्ञापन पत्र पेश गरेका छन् । लखनपारा पश्चिमबाट वार्ड नं ३ को भक्तौली जोड्न भन्दै १ करोड ११ लाखमा ठेक्कापट्टाको कार्य सम्पन्न भइ सडक निर्माणको काम सुरु भैसकेको अवस्थामा काम रोकर बजेट सार्न अनेक चलखेल भएको भन्दै स्थानीयले आइतबार नगरप्रमुख मंगल प्रसाद थारुलाई ज्ञापन पत्र पेश गर्दै ध्यानाकर्षण गराएका छन् ।
टोल सुधार समिति लखनपाराको नेतृत्वमा सम्पूर्ण गाउँ समाजका करिब २ सय जना आइतबार नगरपालिकामा पुगेर सो चलखेल तत्काल बन्द गरी छिटोभन्दा छिटो सडकको निर्माण कार्य सुचारु गर्न माग गरेका छन् । साथै उनीहरुले ठेक्कापटा भैआएको १ करोड ११ लाख मध्येको ३९ प्रतिशित रकम पनि लखनपारामै खर्च हुनु पर्ने माग गरेका छन् । यदि जनताको शालिन आग्रहलाई दबाउन खोजिए आफूहरु चुप लागेर नबस्ने स्थानीय कमल पौडेलको चेतावनी छ । ज्ञापन पत्र बुझाउँदै पौडेलले भन्नुभयो–“डेण्डर भएर सुरु भएको काममा ढिलासुस्ती हुँदा पनि हामीले मौखिक जानकारी गरायौँ । यस विषयमा कुनै सुनुवाई भएन । बुझ्दै जाँदा सडक बनाउने भन्दा पनि बजेट नै अन्त सार्ने प्रपञ्च रचिएको रहेछ । त्यसपछि बाध्य भएर आफूहरु नगरपालिकामा ज्ञापन पत्र पेश गर्न र मिडियामा भन्न बाध्य भएका हौँ ।” पौडेलले यसो हुनुमा जनप्रतिनिधिकै मिलिमतो रहेको भन्दै आक्रोश पोख्नुभयो । साथै ज्ञापन पत्रमा यस कार्यमा संलग्नहरुमाथि पनि कडा कारबाही हुनुपर्ने माग गरिएको छ ।
राजनैतिक पहुँचमा जनप्रतिनिधिबाटै जनतामाथि घोर अन्याय भएको भन्दै तत्काल माग सुनुवाई नभए आन्दोलनमा जान आफूहरु बाध्य हुने गाउसमाजका अगुवाहरुको भनाई छ ।ज्ञापन पत्र बुझ्दै मेयर थारुले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सत्यतथ्य बुझ्ने बताउनु भयो ।
जनप्रतिनिधि, राजनैतिक दल, ठेकेदार, इन्जिनियर र प्राविधिकहरु कै त्यहाँ मिलिमतोमा बजेटलाई अन्त सार्न खोजिएको सर्वसाधारणले आरोप लगाएका छन् । पछिल्लो समय जनतालाई आँखामा छारो हाल्न काम गरेजस्तो गरेर टार्न खोजेको भन्दै सर्वसाधारणले तीव्र आक्रोश पोखेका छन् ।
पुरा ज्ञापन पत्र जस्ताको तस्तै
श्रीमान् नगर प्रमुख ज्यू ,
वाणगंगा नगरपालिका कपिलवस्तु ।
विषय :ज्ञापन पत्र ।
महोदय !
प्रस्तुत विषयमा आर्थिक वर्ष ०७५।०७६ को प्रदेश बजेट अनुसार वाणगंगा न.पा. २ अन्तर्गत पर्ने लखनपारा गाउँको पश्चिम क्षेत्रबाट वडा नं. ३ को भक्तौली गाउँमा जोडिन जाने बाटोको लागि निकासी भएको रकम १ करोड ३१ लाख रहेको छ । जस अन्तर्गत टेन्डर आह्वान गर्दा १ करोड ११ लाखमा ठेक्कापट्टाको कार्य समेत भई बाटोमा माटो चढाउने काम सम्पन्न भएको मात्र छ । र अहिले सो कार्य अबरुद्ध जस्तै रहेको छ । कार्य अवरुद्ध कामको ढिलासुस्ती देखेर पटक–पटक यस विषयमा वडा कार्यलयलाई मौखिक जानकारी गराइरहदा पनि यस लखनपारा गाउँका लागि तोकिएर यहिँ ठेक्कापट्टा भैसकेको काम पनि बजेट घटाई आफ्नै मनमानि रुपले तिनुइया गाउँमा लैजाने चलखेल भएको हुँदा लखनपारा गाउँलाई विकासबाट बन्चित हुन पर्ने अवस्था देखिएको छ । ठेकेदारले समयमा माटो नचढाउने, ह्यूमपाइप नलगाउनाले सर्वसाधारणको खेत नजिकबाट सिंचाइको लागि बनाइएको कुलो समेत डोजरले भत्किएको छ । असार महिना आइरहेको हुँदा छिटै यस विषयमा कार्यवाहि नभए कृषकहरुको लागि कृषि उत्पादनमा समेत असर पर्ने देखिन्छ ।
ठेकेदारले काम थालनी गर्दाको रफ्तारमा काम पनि नभैरहेको र हाल आएर अलिअलिकाम गरेजस्तो गरि गाउँलेलाई आँखामा छारोहाल्ले गतिबिधि पनि सोहि स्थानबाट भएको हुँदा गाउँका जनस्तरमा नैरास्यताको भाव विकास हुदै गैरहेको छ । ठेकेदार,इन्जिनियर र प्राविधिकहरुले पनि सहि ढंगले सहयोग नगरिरहेको हुँदा यहाँ पनि त्यहि आन्तरिक शक्तिले दबाब दिइरहेको मनोवैज्ञानिक बुझाई हामी सबैको रहेको छ ।
गाउँ गाउँको विकास होस् । सडक बनुन । विद्यालय बनुन भन्ने मान्यताले सरकारले हरेक स्तरमा बजेट तर्जुमा गरेको हुन्छ । जनस्तरबाट विश्वास र आधार सहित मत दिएर समाजको अगुवा बनाएका जनप्रतिनिधिले सबैको भागको बजेटलाई यथा–यथा स्थानमा पुर्याउनु कर्तव्य हो । यदि कसैको भागबाट नसोधी निकालेर अर्कैलाई दिने परिपाटी विकास हुँदा समाजमा गलत संस्कारको विकास हुँदै जान्छ । जसले गर्दा सामाजिक एवं नैतिक स्तर खस्किदै जान्छ । समाजमा रहेका गलत परिपाटिलाई निर्मुल पार्नुको साटो सरासर एक लाटाले पनि गलत हो भनी बुझ्ने कुराको अभ्यास पटक–पटक सचेत गराइरहदा पनि नमानेका कारण हामी यस अवस्था सम्म आइपुगेका छौं । र रोकिएको काम र बजेटको पूर्ण रकम यथास्थानमै खर्च होस् भनी निम्नलिखित माँगहरु राखि ज्ञापन पत्र पेश गरेका छौं ।
मागहरु –
१. छिटोभन्दा छिटो थालनी गरेको सडक निर्माण पुरा गर्नुपर्ने ।
२. बजेटलाई अन्त लगि खर्च गर्ने काम कदागि नहुनु पर्ने ।
३. उक्त ठेक्कापटा भैआएको १ करोड ११ लाख मध्येको ३९ प्रतिशित रकम पनि यसै गाउँमा खर्च हुनुपर्ने ।
नोट : समयमै कार्यवाहि नभए अन्य संघर्षका कार्यक्रम गर्न गाउँ समाज बाध्य हुनेछ ।
बोधार्थ –
१. २ नं वडा कार्यालय बाणगंगा न.पा कपिलवस्तु ।
निवेदकहरु :
सम्पूर्ण गाउँ समाज
वाणगंगा न.पा. वडा नं. २ लखनपारा ।
टोल सुधार समिति लखनपारा ।
प्रतिक्रिया