११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

सातमाराका किसान आकाशे पानीको भरमा, सरकारको ध्यान कहिले पुग्ला ?



विष्णुकुमार आले, अर्घाखाँची ।
तराईको अधिकांश खेतियोग्य जमिन सिंचाई सुविधा नभएकै कारण बाँझो छ । पहाडी क्षेत्रका धेरै जसो उर्बर फाँटमा पनि सिंचाई सुविधा नभएकै कारण खेती गर्न सकिएको छैन । अर्घाखाँचीको लाहापे सातमाराका किसान सिंचाईकै समस्या भोगिरहेका छन् । अर्घाखाँचीको सितगंगा ८ साबिक जलुके गाविसको सातमारा र लाहापे क्षेत्रमा सयौं हेक्टर खेतियोग्य फाँट छ । त्यहि फाँटको तलबाट राप्पती नदी बग्छ । तर किसानले खेति गर्नका लागि आकाशे पानीको भर पर्नु पर्छ ।
स्थानीयको गुनासो
घर जमिन तलबाट राप्पती नदि बग्छ तर यहाँको सयौं हेक्टर खेतियोग्य जमिन सुकिरहेको स्थानीय रेनु प्रसाद बेल्बासेले बताउनुभयो । चुनावको बेला स्थानीय, प्रदेश र केन्द्रीय नेताहरूले भोट तान्न यहाँको सिचाँईको समस्यालाई मुख्य एजेन्डा बनाएर खोक्रो आश्वासन दिने गर्दछन् तर चुनाव जितेर गएपछी नेताहरू यस ठाँउमा एक पटक फर्केर नआएको उहाको गुनासो छ । यस क्षेत्रमा सिंचाईको व्यवस्था मिलाउन पटक पटक नेताहरुलाई आग्रह गरेपनि सुनाई नभएको उहाँ बताउनुहुन्छ ।
यस ठाउँमा ५ सय ५० घरधुरी भन्दा बढिको बसोबास छ । जमिन समथर मात्रै छैन, खेतीयोग्य पनि छ । गत आर्थिक बर्षमा क्षेत्रिय योजना अन्तर्गत सिलिङ खोला, लाहापे, सातमारा सिंचाई आयोजनाका लागि एक करोड बजेट छुट्टिएको थियो । तर काम पनि नभएको, पैसा पनि कहाँ गयो आफुलाई जानकारी नभएको स्थानीय श्रीराम गिरीले बताउनुभयो । यहाँको खेतीयोग्य जमिनमा सिंचाईको व्यवस्था हुने हो भने बाह्रै महिना खेती गर्न सकिने र युवाहरु बिदेश जानबाट रोकेर व्यवसायिक कृषिमा लाग्ने गिरीले बताउनुभयो ।
वडा अध्यक्षको प्रयास
यसवर्ष राप्पतीबाट लिप्ट सिंचाई योजनाका लागि प्रदेश सरकारले सर्भे गरेपनि अहिले सम्म काम सुरु हुन नसकेको सितगंगा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुकेश आलेले बताउनुभयो । गत आर्थिक बर्षमा क्षेत्रिय योजना अन्तर्गत सिंचाईको लागि सिलिङ खोला सातमारा लाहापे सिंचाई योजनामा रू. १ करोड छुट्टिएको भएपनि त्यो पैसा कहाँ कता गयो अत्तोपत्तो छैन वडा अध्यक्ष आलेले बताउनुभयो । यस क्षेत्रमा सिंचाई योजना ल्याउन आफुले सक्दो प्रयास गरिरहेको बताउँदै उहाँले भन्नुभयो, “हामीले सर्भे गरेको प्रदेश स्तरिय योजनालाई ताकेता गरिरहेका छौं । तर योजना निर्माणको कति पैसा छुट्टिएको छ, काम के कसरी गर्ने हो आफुसँग परामर्श वा छलफल गर्न कोही आएनन ।” सिंचाईको सुविधा भए बाह्रै महिना खेति गर्न सकिने किसानहरु बताउँछन् ।
व्यवसायिक खेति गर्न सके साँझ विहानको गर्जो टार्न विदेशिनु नपर्ने स्थानीयको भनाई छ । तर सिंचाईका लागि पटक पटक पहल गरेपनि सुनुवाई नभएको स्थानीय बताउँछन् । उनीहरु भन्छन,् जिल्लामा पनि कति धाउने, प्रदेसमा र केन्द्रमा पनि पटक पटक विभिन्न दलका नेताहरूलाई भेटेर सिचाँई योजनाका बारेमा कुराकानी गरियो तर अहिले सम्म हाम्रो कुरा कसैले सुनेन । सिंचाई सुविधा नहुँदा बाँझो बनेका फाँट मुनीबगिरहेको राप्पती हेरेर यहाँका किसान मन बुझाईरहेका छन् । तर यहाँको खेतीयोग्य जमिनमा सिंचाईको ब्यवस्था गर्न कसैले ध्यान दिन सकेको छैन । यहाँ रहेको सयौं हेक्टर खेतीयोग्य जमिनमा सिंचाईको ब्यवस्था हुन सके उत्पादन खाद्यान्न तथा मौसमी, बेमौसमी तरकारी खेती अन्य जिल्लामा निर्यात गर्न सकिने किसान बताउँछन् ।
प्रदेश सरकार भन्छ योजना प्रकृयामा
प्रदेश ५ का भौतिक पुर्वाधार बिकास मन्त्री वैजनाथ चौधरीले टेलिफोनमा कुरा गर्दै योजना प्रक्रियामा रहेको बताउनुभयो । उहाले भन्नुभयो, “उपभोक्ता प्रक्रिया पुगेको छैन कागजी काम धेरै बाँकी छ ।”
अहिले त्यस क्षेत्रमा राप्पती लिप्ट सिंचाई योजनाको डिपिआरको काम पुरा भएको छ । प्रदेश ५ सरकारले अहिले सम्म बिभिन्न जिल्लामा गरि ५० प्रतिशत सिंचाई योजनाका काम सम्पन्न भैसकेको बताउँदै मन्त्री चौधरीले लाहापे र सातमारा सिचाई योजना प्रक्रियामा छ । तर ५ बर्ष भित्र ७० प्रतिशत सिचाई योजनाका काम पुरा गर्ने त्यसै भित्र लाहापे सातमारा सिंचाई योजना पनि सम्पन्न हुने उहाले बताउनुभयो । मन्त्री चौधरीले अवको ३ बर्षमा काम पुरा हुने भन्दै बजेट एत्ति नै लाग्छ भनेर अनुमान गर्न नसकिने बताउनुभयो ।
मन्त्री चौधरी भन्नुहुन्छ, “हामी ५ बर्ष भित्रमा लाहापे सातामारामा सिंचाईको योजनाको काम पुरा गछौं ।” प्रदेश ५ का १२ ओटा जिल्लामा बिभिन्न ठाँउमा धेरै सिंचाईका योजनाको काम पुरा गर्नु छ । लाहापे सातमाराको राप्पती लिप्ट सिचाई योजनालाई प्राथमिकता साथ अगाडी बढाउने छौं ।

प्रकाशित मिति : १२ जेष्ठ २०७६ आइतबार ००:००  ८ : ४४ बजे