रामपुर ।
पाल्पालीलाई यतिबेला मौरी मोह जागेको छ । मौरीको मह बिक्रीबाट राम्रो आम्दानी हुने तथा घरायसी प्रयोजनका लागि आवश्यक हुने हुँदा पनि यसप्रति सबैको मोह जागेको हो ।
विभिन्न स्थानीय तहले अनुदानमा मौरीको घार वितरण गर्ने भएका कारणमा पनि यसमा कृषकको आकर्षण बढेको छ । निस्दी गाउँपालिकाले अनुदानमा कृषकलाई गोलासहितको मौरीको घार वितरण गरेपछि कृषकहरु खुशी भएका छन् ।
कृषि शाखा संयोजक नवराज घिमिरेले कृषकलाई व्यावसायिक तरिकाले मौरीपालनमा आकर्षित गर्न गोलासहितको आधुनिक मौरीघार वितरण गरिएको जानकारी दिए कृषि शाखा कार्यालयले ५० प्रतिशत अनुदानमा गाउँपालिकाभरिका ४१ घरपरिवारलाई मौरीको घार वितरण गरेको छ । यसअघि घरको बार्दलीमा दुई÷चार वटा मुढेघारमार्फत मौरीपालन गर्दै आएका कृषक आधुनिक घार मौरी गोलासहित पाएपछि खुशी भएका छन् ।
पाल्पाकै पूर्वखोला गाउँपालिका–२ जल्पाका दिलकुमारी पाण्डेले ४ वर्षअघि देखि २० वटा मुढेघार घरमै राखेर मह बिक्रीबाट आम्दानी लिँदै आएका छन् । कुनै प्राविधिक ज्ञान बिना नै परम्परागत रुपमा घर तथा गोठको भित्तामा मुढेघार झुण्ड्याएर मौरीपालन गर्दै आएको पाण्डेले बताए । उनले मौरीपालनबाट प्रतिमहीना रु २० हजार आम्दानी गर्छन । वडाअध्यक्ष निरबहादुर सारुले भने वडामा १० वटा आधुनिक मौरीघार वितरण गरेको बताउनुभयो ।
पाल्पाको रामपुर नगरपालिका–१ मा पनि मौरीपालनको पकेट क्षेत्रका रुपमा विकास गर्न तालीम सञ्चालनसमेत गरिएको छ । जनउत्थान परिषद् पाल्पा र वडा नं १ का कार्यालयको समन्वयमा भएको तालीममा सहभागीले स्वास्थ्यका हिसाबले महत्वपूर्ण मानिने मह उत्पादनका लागि मौरीपालनमा रुचि देखाएका छन् ।
रामपुरको छम्के, चिहानडाँडा, बर्दाकोट, फोक्सिङ्कोटलगायतका स्थानमा मौरीपालनका निम्ति सर्वेक्षणसमेत गरिएको छ । पाल्पामा उत्पादित मह स्थानीय बजार तथा बाहिरी जिल्लामा बिक्री हुँदै आएको कृषि ज्ञानकेन्द्र पाल्पाले जनाएको छ ।
११ जेष्ठ २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया