मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रदेश सांसद विष्णु पन्थीले अबको एक दुई बर्षमा कपिलवस्तुमा चामत्कारिक विकास हुने बताउनु भएको छ । प्रदेश ५ ले भर्खर जारी गरेको नीति तथा कार्यक्रममा कपिलवस्तु विशेष प्राथमिकतामा परेका कारण अबको एक २ बर्षमा जिल्लाले विकासमा ऐतिहासिक फड्को मार्ने सांसद पन्थीको भनाई छ । कपिलवस्तु जेसीजले शुक्रबार पीस हिमालय रिसोर्ट ठाकुरापुरमा आयोजना गरेर्को हृदयदेखिको सेवाको लागि उत्प्रेरणा’ कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले भन्नुभयो– “जनताले देख्ने र भोग्ने गरी अब जिल्लाले विकासमा फड्को मार्नेमा म विश्वस्त छु । यस्तै गरी विकास हुँदै जाने हो भने अब छिटै नयाँ र आधुनिक कपिलवस्तु बन्छ बन्छ ।” चाइनामा १५ तले पाँच तारे होटल ३ महिनामा बनेको, नजिकै बुटवलमा पनि आठ नौ महिनामै सात तले भाटभटेनी बनेर कारोबार भएको उदाहण दिँदै सांसद पन्थीले पैसा भएमा सबै सम्भव हुने बताउनु भयो । उहाँले अगाडी थप्नुभयो–“ विनियोजित बजेट सही तरिकारले खर्च हुने र समयमै काम हुने हो भने कपिलवस्तुका ठुला आयोजनाको निर्माण पनि पनि छिटै सकिन्छ । त्यसपछि नयाँ र आधुनिक कपिलवस्तु बन्छ ।
मानिसको सबैभन्दा ठुलो धर्म भनेको समाज सेवा रहेकाले सबैमा परोपकारको भावना विकास भएमा बाणगंगाा नगर स्मार्ट नगर बन्ने बताउनु भयो । केही दिनअघि अष्ट्रेलियाको भ्रमण सकेर फर्कनु भएका सांसद पन्थीले विकास भनेको नै समयको सही सदुपयोग भएको बताउँदै केही पूर्वीय र पश्चिमा मुलुकले समयलाई निकै महत्व दिने भएकाले त्यहाँ छिटो विकास भएको आफूले पाएको बताउनु भयो । अब हरेक नेपालीहरुल समयको महत्वलाई बुझेर काम गर्न सके हरेक क्षेत्रमा द्रुत विकास हुने उहाँको भनाई छ ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले मानवको सन्तुष्टि नै समाज सेवामा मिल्ने भएकाले सबैले समाजमा बिभिन्न प्रकारको सेवा गर्नु पर्ने बताउनु भयो । उहाँले जेसिजले गरेको हृदयदेखिको सेवाको लागि उत्प्रेरणा कार्यक्रम निकै सान्दर्भिक भएको बताउँदै नगरले यस्ता कार्यमा सहकार्य गर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुखवक्ता नेपाल मानव सेवा आश्रमका संस्थापक अध्यक्ष राम जि अधिकारीले सेवाको सुरुवात घरबाट गर्नु पर्ने बताउनु भयो । आफूलाई जन्म दिने आमा र बुबा नै संसारको पहिलो ईश्वर रहेको बताउँदै अधिकारीले समाज सेवा नै मानव धर्म रहेका बताउनु भयो । उहाँले जीवनको आमा बुबाको महत्व, सार तत्व, बाँच्नुको अर्थ, खुसी, आदिका विषयमा करिब २ घण्टा उत्प्रेरणामूलक प्रशिक्षण दिनुभएको थियो । मानव सेवाका अग्रज अभियान्ताको रुपमा आफूलाई स्थापित गर्नु भएका अधिकारीले शनिबार बुटवलमा मानव सेवा आश्रमको प्रदेश कार्यालयको उद्घाटन हुन लागेकोले आफ्नो क्षेत्र वरपर बिचल्लीमा परेका बालबालिका तथा बेसहारा आमाबुबालाई त्यहाँ लगेर आश्रय दिन सकिने जानकारी दिनुभयो ।
यसैबीच सोही कार्यक्रममै कपिलवस्तु जेसिजले आश्रमको लागि ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । उक्त रकम जेसिजका अध्यक्ष खुमानन्द घिमिरेले आश्रमका अध्यक्ष अधिकारीलाई हस्तान्तरण गनुृभएको थियो । कपिलवस्तु जेसिज बर्ष २०१९ का अध्यक्ष जेसी खुमानन्द घिमिरेको अध्यक्षता, महासचिव शुशिल खत्रीको संचालन, संयोजक जेसी शंकर न्यौपानेले स्वागतमा सम्पन्न कार्यक्रममा जेसिजका निरुपित कार्यकारी उपाध्यक्ष अर्जुन अधिकारी लगायतले बोल्नु भएको थियो । भने उद्योगी, व्यावसायी, शिक्षक, प्रध्यापक, पत्रकार, विद्यार्थी गरी करिब २ सय बढीले प्रशिक्ष्णमा सहभागिता जनाएका थिए ।
प्रतिक्रिया