११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

अनिता पौडेल हत्याकाण्डका फरार अभियुक्त पक्राउ !



मायादेवी अनलाइन, वाणगंगा ।
अनिता पौडेल हत्याकाण्डमा संलग्न भनिएका फरार अभियुक्त पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फरार अभियुक्तलाई लामो समय पछि पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा रुपन्देही सैनामैना नगरपालिका वडा नं. १ झिमझिमेका त्रिवेणी प्रसाद चौधरी रहेका छन् । उनलाई विशेष सुराकीको आधारमा हिडिरहेको बेला बुटवल उपमहानगरपालिकाको कालिकानगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्लाको वाणगंगा ४ झुँगा कुवेरापुर निवासी पौडेलको फाल्गुण १० गते मध्यरातमा हत्या भएको थियो । पाहुना बनेर आएका दुई जनाले मध्य रातमा पौडेलको हत्या गरेका थिए । हत्यामा दुई जना प्रत्यक्ष संलग्न थिए । जुन हुन् गुनाखर अधिकारी र त्रिवेणी प्रसाद चौधरी । गुनाखर अधिकारी यसभन्दा अगाडी नै पक्राउ परिसके पनि चौधरी फरार थिए ।
पौडेल हत्याका मुख्य योजनाकार नाताले भिनाजु पर्ने श्रीहरि गौतम थिए । उनी पनि पक्राउ परेर जेल चलान भैसकेका छन् । गौतमले गुनाखर अधिकारीलाई ७ लाख रुपैया दिएर अनिताको हत्या गर्न भनेका थिए । साथै गौतम ठेक्कापट्टामा संलग्न व्यक्ति थिए । उनले ७ लाख नगद संगै २५ हजारको जागिर पनि दिने प्रस्ताव गरेका थिए । यही लोभमा पौडेलको हत्या योजना अधिकारीले गराएका हुन् । अधिकारीले एक्लै हत्या गर्न नसक्ने भएपछि शुक्रबार पक्राउ परेका त्रिवेणी प्रसाद चौधरीको सहयोग लिएका थिए ।
यी दुवै जना मिलेर अनिताको हत्या गरेका हुन् । यद्यपि हत्यामा संलग्न अनिताका श्रीमान पनि हुन् । श्रीमान विष्णु पौडेलले भिनाजु संग हत्याको योजना बनाएको अनुसन्धानले देखाएको थियो । पौडेल पनि पक्राउ परेर जेलचलान भैसकेका छन् ।
शुक्रबार पक्राउ गरेका चौधरीलाई आवश्यक कानुनी कार्रबाहीको लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । चौधरी यसभन्दा अगाडी पनि कर्तव्य ज्यान मुद्धामा संलग्न भएर ५ बर्ष कैद सजाए काटेका व्यक्ति हुन् । इलाका प्रहरी कार्यालय बुटवलमा कर्तव्य ज्यान मुद्धामा संलग्न भएको मुद्धा परेपछि उनलाई ५ बर्षको कैद सजाए दिइएको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७६ शुक्रबार ००:००  ६ : ३३ बजे