मायोदवी अनलाइन तौलिहवा ।
८४ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिइने भएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय मार्फत १२ जिल्लामा यस्तो कार्यक्रम लागु गर्ने जनाएको छ । आर्थिक वर्षको अन्त्य तिरबाट मन्त्रालयले ८४ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुलाई घरमा स्वास्थ्य सेवा कार्यक्रम शुरु गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरेर उक्त स्वास्थ्य सेवा कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रम अन्तरगत जिल्ला र पालिका तहमा अभिमुखीकरण गर्दै ८४ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिइने बताइएको छ । स्वास्थ्य सेवाबाट बञ्चित ८४ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा दिने लक्ष्य रहेको सामाजिक विकास मन्त्रालय बुटवलका सरोज रिमालले जानकारी दिनुभयो । रिमालका अनुसार बढ्दो उमेरका कारण बृद्धहरुको स्वास्थ्यमा समस्या आउने भएकाले घरमै पुगेर स्वास्थ्य सेवा दिदै सचेतना अभिवृद्ध गर्ने कार्यक्रम रहेको छ । नमुनाको रुपमा एकवर्ष कार्यक्रम संचालन गरिने र त्यसको नतिजाको आधारमा आगामी वर्षको कार्यक्रम तय हुने बताइएको छ । मन्त्रालयको कार्य विधी अनुसार ८४ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक अस्पताल आउन नसक्ने हुदा कम्तीमा महिनाको २ पटक घरमै पुगेर स्वास्थ्य परिक्षण दिइने भएको छ । महिनाको २ पटक दिइने आधारभूत स्वास्थ्य सेवा वडा कार्यालयको स्वास्थ्य संस्थाले प्रदान गर्नेछ । तराई जिल्लामा घरमै पुगेर स्वास्थ्य सेवा पु¥याए वापत स्वास्थ्यकर्मीले प्रति विरामी २ सय ५० का दरले पाउनेछन् । कार्यक्रममा स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र भगतले जिल्लामा ३ हजार ज्येष्ठ नागरिक रहेको बताए ।
कार्यक्रममा जिल्ला अस्पताल तौलिहवाका मेडिकल अधिकृत गंगाराम यादवले बृद्ध अवस्थामा वेवास्ताका कारण स्वास्थ्यमा जटिल समस्या आउने बताए । अधिकृत यादवले नदेखिएका रोगका लक्षणहरुको जटिलता कम गर्न घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिदा प्रभावकारी हुने बताए । उनले नसर्ने रोगका कारण ६० प्रतिशत मानिसको मृत्यु हुने हुँदा नियमित रुपमा मुधमेह, रक्तचाप, क्यान्सर, स्वासप्रश्वास जस्ता रोगको नियमित स्वास्थ्य जाँच गर्नुपर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका नारायण खनालले जिल्लाका १० वटा स्थानीय तह र वडा कार्यालयसंग समन्वय र सहकार्य गरेर कार्यक्रम प्रभावकारी बनाउनु पर्ने बताए ।
१० जेष्ठ २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया