१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा चमत्कारिक विकास



मायादेवी अनलाइन, कपिलवस्तु (लवनी) ।
जनप्रतिनिधि आएसंगै तीव्र विकासको गतिमा अगाडि बढेको स्थानीय तह कपिलवस्तुको शुद्धोधन गाउँपालिका पनि हो । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित शुद्धोधन विकासको हिसाबले निकै पछाडि रहेको थियो । तर, जनप्रतिनिधि आएसंगै अहिले विकासको लहर चलेको छ ।
गाउँपालिकामा अहिले करोडौंका विकास सुरु भएका छन् । शिक्षा, स्वास्थ्य, खेलकुद, सिंचाई, पूलपुलेसा निर्माणमा गाउँपालिकाले करोडौंका काम अगाडी बढाएको गाउँपालिकाका प्रमुख निशार अहमद खाँले जानकारी दिनुभयो । स्वतन्त्र रुपमा चुनाव जितेर गाउँपालिकाको प्रमुख हुनुभएका खाँ जिल्लाकै लोकप्रिय जनप्रतिनिधि हुनुहुन्छ । चुनाव जितेपछि मोटरसाइकलमै चढेर विकास निर्माणमा खट्नुभएका खाँले गाउँपालिकाको विकासमा चमत्कार नै गर्नुभएको छ ।
अहिले गाउँपालिका भित्र कन्या कलेज निर्माण हुँदै छ । मुस्लिम र हिन्दु समुदायको बाक्लो बसोबास रहेको गाउँपालिका भित्र छात्राहरुका लागि भनेर कन्या कलेजको निर्माण थालिएको हो । मधेसमा छोरालाई छोराहरु संग राखेर पढाउनुहुन्न भन्ने मान्यताले विद्यालयमा छात्राको उपस्थिती न्यून हुने गरेको छ । त्यसले गर्दा छोरीको भविष्य शिक्षाबाट बञ्चित हुँदै आएको छ । यस्तो परिस्थितीमा गाउँपालिका अध्यक्ष खाँले छोरीलाई शिक्षा दिनुपर्छ भन्ने उद्धेश्यले कन्या कलेज स्थापना गर्न लाग्नुभएको हो । अहिले कलेज निर्माणको काम भैरहको छ । कन्या कलेजका लागि संघीय सरकारले ५० लाख बजेट हालेको छ ।

यस्तै गाउँपालिकाको वडा नं. २ मा ७ करोडको लागतमा पक्की पूलको काम जारी छ । निशार मार्ग अन्तर्रगत गाउँपालिकाको बर्गदवा देखि बेतीखोला जोड्नका लागि पक्की पूल निर्माण थालिएको हो । यो मार्ग सीमावर्ती भारतको पिपरा चाकडचौडा सम्म जोडिन्छ । गाउँपालिका अध्यक्षको नामबाट राखिएको निशार मार्गलाई आफ्नै कार्यकालमा पक्की बनाउने अध्यक्ष खाँको उद्धेश्य छ । अहिले पूलको पिल्लर उठाउने काम भैरहेको छ । पूल निर्माणको ठेक्का नवलपरासीको एक ठेकेदार कम्पनीले लिएको छ ।


यस्तै सोही वडा नं. २ को वर्गदहवामा गाउँपालिका स्तरीय रंगशाला निर्माण भैरहेको छ । स्थानीय लक्ष्मी उपभोक्ता समितिबाट रंगशालाको काम भैरहेको छ । त्यसको लागि प्रदेश सरकारबाट ३३ लाख रकम आएको छ । दुई विगाह पक्की जग्गा र १२ विगाह सार्वजनिक जग्गामा रंगशाला निर्माण भएको हो । अहिले शौचालय, खेलाडी डे«सिङ रुम, माटो पटान, बाउन्डी«वाल, अफिस मन्च निर्माणको काम भैरहेको छ । गाउँपालिकामा स्तरीय रंगशाला नहुँदा खेलकुदका कार्यक्रम सञ्चालन गर्न समस्या भैरहेको थियो । प्रदेश सरकारले रंगशालाका लागि बजेट छुट्टाएर काम सञ्चालन भैरहेको देख्दा गाउँपालिकाबासी खुसी देखिन्छन् ।

यसैगरी निशार मार्ग देखि वर्गदवा जोड्ने झण्डै दुई किलोमिटरको मोटरबाटो सम्पन्न भैसकेको छ । त्यसको लागि गाउँपालिकाले यही बर्ष १० लाख बजेट छुट्याएको थियो । साढे तार मिटर चौडाई रहेको मोटरबाटो यस बर्ष बनाउने र अर्को बर्ष पक्की बनाउने लक्ष्य राखिएको अध्यक्ष खाँले बताउनुभयो । गत बर्ष पनि भुसुडी मोड देखि बर्गदवा गाउँमा १० लाखको पक्की नाली निर्माण गरिएको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७६ शुक्रबार ००:००  ३ : ११ बजे