सीताराम चौधरी, चन्द्रौटा ।
“रक्तदान जीवनदान” भन्ने मूल नारासहित कपिलवस्तुको चन्द्रौटामा आयोजित रक्तदान कार्यक्रममा १ सय ५ युनिट रगत संकलन भएको छ । लुम्बिनी पर्यटन वर्ष २०७६ को अवसर पारी व्यापार संघ कपिलवस्तुले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदाताहरुले रक्तदान गरेका हुन् । रक्तदान नै जीवनदान भएकाले रगतको आवश्यकतालाई थप टेवा दिन रक्तदान कार्यक्रम गरिएको व्यापार संघका अध्यक्ष महादेव पोखरेलले जानकारी दिए । “हामीले दान गरेको रगतबाट जो कोहीले पनि जीवनदान पाउने विश्वासका साथ रक्तदान जस्तो पुण्य कार्यलाई निरन्तरता दिएका हौं” – उनले भने ।
जिल्लाको शिवराज नगरपालिका ५, चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा आयोजित रक्तदान कार्यक्रमको पूर्वसन्ध्यामा प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले रक्तदान जस्तो पूण्य कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । स्वस्थ जीवनका लागि पनि रक्तदान गर्नुपर्ने उनले बताए । हामीले दान गरेको एक पोका रगत कसैको ज्यान जोगाउन सकिन्छ भने रक्तदान किन न गर्नु – उनले भने ।
यस्तै कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णुप्रसाद खतिवडा, अरनिको बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण भाट क्षेत्री लगायतले रक्तदान नै जीवनदान भएकाले यस किसिमको पूण्य कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बुटवल शाखाको प्राविधिक सहयोग रहेको थियो ।
प्रतिक्रिया