११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

गोरुसिंगेका घर टहरामा डोजर



मायादेवी अनलाइन, गोरुसिंगे ।

कपिलवस्तु बुद्धभूमि नगरपालिकाको गोरुसिंगे स्थित केही पसलमा डोजर लगाएर घर-टहरा भत्काइएको छ । डिभिजन बन कार्यालय कपिलवस्तुले घर टहरा हटाउन ५ दिने सुचना जारी गरेको थियो । जारी सुचनाको म्याद सकिदा समेत घर-टहरा हटाउन तर्फ कुनै पहल नभए पछि शुक्रबार विहान डोजर लगाइएको हो ।
त्रिमूर्ती सामुदायिक बन अन्तर्रगत पर्ने उक्त जग्गा लामो समय देखि अतिक्रमण हुँदै आएको थियो । बुद्धभूमि नगरपालिकाले यो स्थानमा रिफ्रेस सेन्टर बनाउने तयारी गरेको छ । केन्द्रिय नीति अनुसार यहाँ रिफ्रेस सेन्टर बनाउन लागिएको हो । यद्यपि यहाँ घर-टहरा हुँदा काम गर्न असहज भएको थियो । शुक्रबार विहान डिभिजन बन कार्यालय कपिलवस्तु र गोरुसिंगेका अगुवाहरु मिलेर घरटहरा हटाएका हुन् । यहाँ १४ घर-टहरा थिए ।
बुद्धभूमि नगरपालिका वडा नं. २ का वडा अध्यक्ष भेषराज शर्माले रिफ्रेस सेन्टरको आवश्यकता भएकोले घर-टहरा हटाउन परेको बताउनुभयो । बर्षौ देखि बस्दै आएका सुकुम्बासी संग घर-टहरा हटाउने विषयमा पटक पटक छलफल भएको भन्दै जवरजस्ती घर-टहरा नहटाएको वडा अध्यक्ष शर्माले बताउनुभयो । रिफ्रेस सेन्टर बनाउदा सटर सहितका घरहरु हुने र त्यो सटरमा आज सम्म बस्दै आएकाहरुलाई प्राथमिकता दिने गरी सहमती भएको भएपनि पछि उल्लङ्घन भएको उहाँले आरोप लगाउनुभयो ।
बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले वास्तविक सुकुम्बासीको घर नभत्काइएको बताउनुभयो । गोरुसिंगेमा बसपार्कको अभाव भएकोले यहाँ रिफ्रेस सेन्टर बनाउने निर्णय भएपछि घर-टरहरा हटाउन बाध्य भएको बताउनुभयो । बर्षौ देखि स्थानीयले होटल सञ्चालन गरेपछि यो ठाउँ पूणतया सार्वजनिक जग्गा भएको बताउनुभयो ।

सुकुम्बासी बसोबास गर्ने स्थान मुख्य बजारको बीचमा हुन नसक्ने सरोकारवालाले ठोकुवा गर्छन । डिभिजन बन कार्यालयले घर-टहरा हटाउने सुचना प्रकाशित गरेपछि सुकुम्बासीहरु अदालत सम्म पुगेका थिए । यता बर्षौ देखि बस्ने आएको झुपडीमा जवरजस्ती डोजर लगाएर हटाएको भन्दै पीडितहरु आक्रोस बनेका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०७६ शुक्रबार ००:००  २ : ०२ बजे