एजेन्सी ।
विश्वकप क्रिकेट प्रतियोगिता २०१९ को चर्चाले यतिबेला सारा विश्वको ध्यानाकर्षण गरेको छ । आगामी मे ३० देखि १४ जुलाईसम्म सञ्चालन हुने विश्वकपमा कसले बाजी मार्ला त्यो अहिले चर्चाको विषय बनेको छ । यो विश्वकपमा आयोजक राष्ट्र इंग्ल्याण्ड, अस्टे«लिया र भारतलाई प्रमुख दाबेदारको रूपमा हेरिए पनि अनिश्चितताको खेल क्रिकेटमा यस्तै हुन्छ भनेर दाबी गर्न सकिँदैन ।
यी तीन दाबेदार राष्ट्रका टिमबाहेक दक्षिण अफ्रिका, वेष्टइन्डिज, श्रीलंका र पाकिस्तानलाई पनि विश्वकपको उपाधिका लागि कम आँकिएको छैन । यी दक्षिण अफ्रिकाबाहेक श्रीलंका, वेष्टइन्डिज र पाकिस्तानले विश्वकपमा आफ्नो कमाल देखाउँदै विश्वकपको ट्रफीमाथि कब्जा जमाइसकेको इतिहास हाम्रोसामु छ ।
यतिबेला विश्वकप क्रिकेट २०१९ लाई रोचक, रोमाञ्चक र सनसनीपूर्ण बनाउन सहभागी दशवटै टिमले विभिन्न हरकत गर्दै आएका छन् । कुनै टिमले जर्सी परिवर्तन गरेर भाग्य अजमाइरहेका छन् भने कुनैले पुराना र अनुभवी खेलाडीलाई टिममा पुनः समावेश गराएर विश्वकपको उपाधिमाथि कब्जा जमाउने सपना बुनेका छन् ।
यस्तोमा हालै आयोजक टिम इंग्ल्याण्डले आफ्नो टिममा परिवर्तन गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ । इंग्ल्याण्ड अब यो विश्वकपमा नेवी ब्लु जर्सीमा देखिने भएको छ । सन १९९२ मा यही रंगको जर्सी लगाएर विश्वकप खेलेको इंग्ल्याण्डको टिम फाइनलसम्म पुगेको थियो । उक्त विश्वकपको फाइनलमा पाकिस्तानसँग पराजित भए पनि नेवी ब्लु जर्सीलाई इंग्ल्याण्डले शुभ मान्ने गरेको छ ।
इंग्ल्यान्ड सन् १९७९, १९८७ र १९९२ गरी तीनपटकसम्म विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरिसकेको छ । यसपछि आयोजना भएका विश्वकपमा इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन । सन् २००७ मा क्वार्टरफाइनल र २०११ मा सुपर ८ मा पुग्नु नै इंग्ल्याण्डका लागि ठूलो उपलब्धि मानिएको छ । यसभन्दा अघिका विश्वकपमा इंग्ल्याण्ड लिगचरणबाटै बाहिरिएको थियो ।
२७ वर्षसम्म विश्वकप क्रिकेटमा कुनै चमत्कार देखाउन नसकेको इंग्ल्याण्डलाई यसपटक विश्वकपको प्रमुख दाबेदारको रूपमा हेरिएको छ । अन्य राष्ट्रको टिमभन्दा निकै सन्तुलित मानिएको इंग्ल्याण्डबाट यसपटक ठूलो अपेक्षा पनि राखिएको छ । अझ आफ्नो मुलुकमा आयोजना हुने भएकोले पनि इंग्ल्यान्डले विश्वकप जित्ने क्रिकेट विज्ञहरूले दाबी गरेका छन् । के २७ वर्षपछि इंग्ल्याण्डले विश्वकप जित्ला– अहिले यो प्रश्न अहम् बनेको छ ।
प्रतिक्रिया