११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

कपिलवस्तु घर भएकी किशोरीलाई यौनधन्दामा लगाउने दम्पति पक्राउ !



बुटवल ।
कपिलवस्तुकी एक किशोरीलाई ६ महिना देखि बन्धक बनाई योनधन्दामा लगाएको खुल्न आएको छ । बुटवलको एक होटलले  ती किशोरीलाई यौनधन्दामा लगाउने गरेको पाइएको हो । यौनधन्दा चलाएको आरोपमा बुटवलमा प्रहरीले होटल सञ्चालक दम्पतिलाई पक्राउ गरेको छ । बुटवल ११ कालिकानगरस्थित राप्ती मेनु होटलमा करिब ६ महिनादेखि बन्धकजस्तै बनेकी कपिलवस्तु घर भएकी १५ वर्षीया किशोरी यौन शोषणको पीडा सहन नसकेर भागेपछि घटना बाहिर आएको प्रहरीको भनाइ छ ।
होटलमा बढार कुँडार गर्न भनेर राखिएकी युवतीलाई यौन धन्दामा लगाएको सूचनापछि प्रहरीले बाग्लुङ निसिखोला ७ घर भई बुटवल ११ मा होटल चलाउँदै आएका होटल सञ्चालक दम्पत्ती टेकबहादुर कुँवर र मीनाकुमारी बस्नेतलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए । पक्राउ परेका कुँवर दम्पतिलाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
भाँडा माँझ्न बसेकी किशोरीलाई आफ्नो होटलसँगै अन्य होटलमा समेत यौन सम्पर्कका लागि पठाउन थालिएपछि किशोरी भागेर घर गएको भनाइ छ । प्रहरीको दाबीअनुसार राप्ती मेनु होटलमा किशोरी र युवतीहरु जम्मा गर्ने र बुटवलमा विभिन्न होटलहरुमा यौनधन्दाका लागि पठाउने गरिएको थियो ।
पीडितको भनाइ उधृत गर्दै प्रहरीले जनाए अनुसार होटलमा काम गरेको पैसा पनि होटल संचालकले दिएका थिएनन् । उनले यौन शोषणमा लगाए वापतको पैसासमेत कुँवर दम्पति आफैंले बुझ्ने गरेका थिए । पक्राउ परेका दम्पत्तीलाई मानव बेचबिखन तथा संगठित अपराधमा कारवाही गरिने प्रहरीले जनाएको छ । ती दम्पत्तीलाई १५ बर्षको कैद सजायँ हुनसक्ने कानुनी व्यवस्था रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६ बुधबार ००:००  ७ : १५ बजे