९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

किसानको विजोग, चिनी उद्योग बन्द हुँदा ५ करोडको उखु खेतमै सुक्यो



नवलपरासी ।
चिनी उद्योग बन्द भएपछि पश्चिम नवलपरासीका किसानहरुको ५ करोड भन्दा बढीको उखु खेतमै सुकेका छन् । जिल्लामा तीन चिनी उद्योग छन् । तीमध्ये लुम्बिनी चिनी उद्योग एक महिना अघि नै बन्द भएको हो । बाग्मती र इन्दिरा चिनी उद्योगले तीन दिनअघि क्रसिङ बन्द भएको सूचना निकालेपछि किसानका उखु खेतमै सुक्न थालेका हुन् ।

उद्योग बन्द भएपछि बिक्री हुन नसकेका उखुको क्षतिपूर्ति सरकारले उपलव्ध गराउनुपर्ने किसानहरुले माग गरेका छन् । मंसिरको अन्तिम सातामा क्रसिङ सुरु हुने उद्योगहरु यस वर्ष फागुनको दोस्रो सातादेखि सञ्चालनमा आएका थिए ।

ढिलो गरी सञ्चालनमा आएका उद्योगहरु उखु खेतमै रहँदा बन्द भएकाले त्यसको क्षतिपुर्ति सरकारले दिनुपर्ने उखु उत्पादक कृषक समितिका जिल्ला अध्यक्ष उमेश यादवले बताए । उद्योग बन्द भएपछि ७० देखि ७५ विगाहामा लगाइएको एक लाख बढी क्विन्टल उखु पूर्ण रुपमा सुक्न थालेका छन् ।

जस कारण किसानले ५ करोड बढी क्षति ब्यहोर्नु परेको अध्यक्ष यादवले बताए । उखु नकाटेसम्म उद्योग बन्द नगराउन पटक पटक प्रशासनलाई आग्रह गरे पनि वास्ता नगरिएकाले त्यसको क्षतिपुर्ति सरकारले उपलव्ध गराउनुपर्ने किसानको माग छ ।

कटानी र उद्योगसम्म पु¥याउने ढुवानी खर्च बाहेकको रकम सरकारले उपलव्ध गराउनुपर्ने किसानहरुले माग गरेका छन् । किसानहरुले अहिलेसम्म उद्योगहरुलाई १३ लाख ८ हजार क्विन्टल उखु उपलव्ध गराएका छैनन् । उखु उपलब्ध गराएको ३५ दिनभित्र भुक्तानी दिने उद्योगहरुले सहमति गरेका थिए ।

तर कुनै पनि किसानलाई रकम दिइएको छैन । सरकारले यसवर्ष उखुको प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैशा मुल्य निर्धारण गरेको छ । ढिलो गरी सञ्चालनमा आएका उद्योगहरुले उखु सुकेको भन्दै ५ देखि ५० प्रतिशतसम्म कटौती गरेर खरिद गरेको समितिले जनाएको छ ।

एक सय क्विन्टल उखुलाई सुकेको भन्दै ५० क्विन्टलको मात्र पूर्जी दिएर किसानलाई ठगी गरेको समितिको आरोप छ । मजदुरको अभाव देखाएर समयमा उखु नकाट्नु आफ्नो दोष नभएको उनले बताए । किसानहरुले उपलब्ध गराएको उखुको विवरण तयारी गरिरहेकाले केही दिनमा भुक्तानी प्रक्रिया समेत सुरु गरिने थापाको भनाइ छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६ बुधबार ००:००  ६ : ०१ बजे