चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
अर्घाखाँची जिल्लाकै अग्लो दावी गरिने पाणिनी तपोभूमि दह । अर्घाखाँचीको पूर्वमा रहेको पाणिनि गाउँपालिका-१ पणेनामा चिटिक्क परेर टुसुक्क बसेको तपोभूमि । चारैतिर डरलाग्दो घनाजंगल र चारकोषे झाडी । चौतफी निर्जन । घनाजंगलको बीचबाट पहाड चढेर मुस्किलले पुग्नु पर्ने बाध्यता । खानेपानी, खानपान लगायतको चरम असुविधा । कस्तो अनकन्टार जंगल । यस्तो घना जंगलको बीचमा अन्य समयमा मानिसको उपस्थिति त रहन्थ्यो नै तर हजारौँ मानिस जम्मा हुनु कल्पनाको विषय मात्र थियो ।
रातोसारी र चोलोमा ठाँटिएर शुशेली लगाउँदै हिँडेका महिलादिदीवहिनीको दैनिक लावालस्कर देख्दा लाग्दथ्यो कि वेसिजनमा पनि हरियो पहाडको टाकुरीभरी ढकमक्क लालिगुराँस फुलिरहेछ । यस्तै दौरा सुरुवालमा ढाकाटोपी चटक्क परेर लयमा लय मिलाएर बुबादाजुको उकालो चढाइले लाग्दथ्यो कि स्वर्गमा केके नै भैरहेको छ । तर त्यो कुनै स्वर्ग पनि थिएन । कुनै नौलो काम पनि भैरहेको थिएन । अनकण्टार जंगलमा केवल भैरहेको थियो धार्मिक महामहोत्सव ।
बाक्लो वस्ती । जनसंख्याको चाप । सबै भौतिक पूर्वाधारको विकास भएको स्थानमा यस्ता धार्मिक महोत्सवहरु हुन्छन् । जहाँ पनि हुन्छन् । त्यसलाई सामान्य रुपमा लिइन्छ । तर निर्जन र कुनै पनि भौतिक पूर्वाधारको विकास नै नभएको स्थलमा भएको अर्घाखाँचीको धार्मिक महोत्सवको पूर्ण सफलताले केही फरक सन्देश प्रवाह गरेको छ ।
मुलुकमा धर्म निरपेक्षताको नाममा जतिसुकै खोक्रा कुरा गरे पनि त्यहाँ भएको धार्मिक महोत्सव, अनि त्यहाँ भएको भीँडभाडले पछिल्लो समय अध्यात्म र धर्मकर्म प्रति मानिसको आस्था कत्ति छ भन्ने सबुत हुन्छ । आयोजकको दाबी अनुसार त्यो निर्जन भूमिमा भएको अध्यात्मिक महोत्सवमा ७ दिनमा १ लाख दर्शालु भक्तालुले सहभागिता जनाएका छन् । गत वैशाख ३० गतेदेखि जेठ ६ गतेसम्म आयोजना भएको श्री ब्रह्म वैवर्त पुराण अनुष्ठान ज्ञान महायज्ञमा चरम कम्युनिष्टको कुरा गर्ने नेता, मन्त्री र कार्यकर्तादेखि पत्रकार, शिक्षक, वकिल, उद्योगी, व्यावसायी, डाक्टर, इन्जिनियर, विद्यार्थी कसैको पनि कमी भएन । एक हप्तामा करिब १ लाख दर्शकले उक्त महोत्सवको साक्षत् अवलोकन गरे । पैसा संकलन हुनुभन्दा पनि त्यहाँ जनताको बाक्लो सहभागिता देखिनु आफैमा उदाहरणीय छ ।
निकै कठिन बाटो छिचोल्दै अर्घाखाँचीको पोखराथोक र पाल्पा जिल्लाको तीनधारेबाट उकालो हिँडेपछि करिब डेढ घण्टामा पुगिने महोत्सव स्थल पाणिनी दहमा दिनप्रतिदिन दर्शालु भक्तालुको घुईचो रह्यो । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले उद्वघाटन गरेको महोत्सवमा सुरुका दिनदेखि नै भक्तजनको घुइचो लागेको संरक्षक पाणिनी गाउँपालिकाका अध्यक्ष अच्यूत गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार छुट्टी र शनिबारको दिन हजारौँ दर्शक महोत्सवस्थल आएका थिए । यो धार्मिक महामहोत्सवमा यति धेरै दर्शकको सहभागिता हुनु अर्घाखाँचीमै पहिलो घटना भएको स्थानीय बताउँछन् । यसका पछाडी धेरै कारण छन् ।
हजारौं वर्ष पहिले पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदमिमा आएका पाणिनि ऋषीले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका, संस्कृतको ब्याकरणको उत्पत्ति भएको, पाणिनि तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल रहको,मुलुकका सय पर्यटकीय गन्तव्य मध्ये एकमा पर्ने यो ऐतिहासिक भूमिमा तापनि यो तपोभूमि ओझेलमा परेको थियो । पाणिनि ऋषीले पणेनामा तपस्या गरेर निस्किएको चौध सुत्रलाई महेश्वर सुत्राणी भनिएको र तिनैका आधारमा लघु सिद्धान्त, मध्य सिद्धान्त र सिद्धान्त कौमुदीको निर्माण गरेको किंवदन्ती भए पनि यसको आवश्यकीय प्रचार नहुँदा त्यहाँको भनेजस्तो विकास भएको थिएन । महोत्सव आयोजना गर्दा आर्थिक संकलन गर्ने भन्दा पनि यसको प्रचार गर्ने उदेश्य राखियो ।
यसले गर्दा यस पावनभूमि,संस्कृत ब्याकरणसंग सरोकार राख्ने सबैमा चासो प्रवाह भयो । त्यस्तै त्यहाँ गुरुकुलिय शिक्षा प्रदान गर्ने सुविधासम्पन्न गुरुकुल र विशाल गौशाला निर्माण गर्ने उदेश्यले पनि सबैलाई आकर्षित गरेको थियो । विगतका बर्षहरुमा सामान्य प्रकारले महायज्ञहरु हुने भए पनि यस बर्ष भने आयोजकले प्रचार प्रसार र भौतिक संरचना निर्माणमा कुनै कसर बाँकी राखेनन् । महोत्सव हुनुभन्दा एक महिनाअघिबाट नै बिभिन्न समिति उसमिति बनाएर स्थानीयहरु कस्सिए । बृहत् मोटरसाइल र्याली नै गरेर यसको प्रचार गरियो ।
आर्थिक संकलन गर्ने उद्धेश्यभन्दा पनि संस्कृत ब्याकरणको प्रादुर्भावस्थल पाणिनीदहजस्तो ऐतिहासिक स्थलको प्रवद्धन गरी नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउने उद्धेश्यले आयोजना भएको श्री ब्रह्म वैवर्त पुराण अनुष्ठान ज्ञान महायज्ञमा सबैले साथ दिए । दिनप्रतिदिन जिल्ला भित्र तथा बाहिरका १ लाख जति दर्शकले सहभागिता जनाए ।
महोत्सवको आकर्षणको रुपमा व्यासाचार्य भूवन गुरु र उहाँको वाचन कला रह्यो । व्यासाचार्य भूवन गुरुको मुखारविन्दबाट भएको संगितमय कथाबाचन सुन्न नेता, मन्त्री, डाक्टर, इन्जिनियर, पत्रकार, शिक्षक, विद्यार्थी कसैको पनि कमी भएन । नेपाल तथा भारतबाट समेत भित्रयाइएका बाद्यबादन टोलीसंग उहाले महोत्सव अवधिभर बिभिन्न झाँकी र भजनसहित प्रवचन दिनुभयो । उहाँले पाणिनीसंग जोडेर यस क्षेत्रका धार्मिक स्थलहरुको लुकेको अस्तित्व र महिमा पनि प्रस्तुत गर्नुभयो ।
परम्परागत पाडित्याइँबाट टाढा रहेर गरिएको उहाँको बाचन कला र संगितमय भजनमा सबै वर्ग तालमा ताल मिलाएर नाचे । यस्तै वेद र विज्ञानको सम्बन्ध, विद्धार्थी ज्ञान, आदिका बिषयमा पनि गुरुले गहकिलो प्रवचन दिनु भएका कारण बिभिन्न विद्यालय, संस्थाबाट विद्यार्थी र भक्तजनको उपस्थिति नटुटेको स्थानीय बुद्धिसागर बेल्वासेको भनार्ई छ ।
यसका अतिरिक्त पाणिनी स्थलको मनोरमता पनि आकर्षणको केन्द्र रह्यो । महोत्सव स्थलमा पुगेपछि चिसो हावासंगै उत्तर फर्कदा हिमालयका हिम श्रृंखला, दक्षिण फर्कदा तराईका फाँट अनि भारतीय भूमि देख्न पाइने विशेषता भएका कारण पनि दर्शनार्थी त्यस स्थानमा पुगेका ब्यासाचार्य भूवन गुरुले बताउनु भयो । आयोजकका अनुसार यस महायज्ञको सफलताले भ्रमण बर्षमा त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने छ । यस्तै महायज्ञबाट जम्मा भएको रकमले दहको स्तरोन्नति । दहमा सौन्दर्यता भर्ने । संस्कृत गुरुकुलम्को लागि जग सिर्जन गर्ने, विशाल गौशाला निर्माणको काम अघि बढाउने लगायतका काम तत्काल सुरु हुने अभियान्ता तथा समाजसेवी धनराज पौडेलले बताउनु भयो । उहाँका अनुसार यति धेरै मानिसले यसरी महोत्सवको दर्शन गर्लान् भन्ने आफूलाई विश्वास नै नभएको बताउँदै काम आँटे सबै कुरा सफल हुने शिक्षा आफूहरुले पाएको उहाँको भनाइ छ । ७ दिनमा १ लाख दर्शक आयोजकको दाबी हो ।
प्रतिक्रिया