१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

उपचारका क्रममा बालकको ज्यान गएपछि देउखुरीका मेडिकल सञ्चालक पक्राउ



दाङ ।
डेढ वर्षीय बालकको उपचारका क्रममा ज्यान गएपछि दाङ देउखुरीका एक मेडिकल सञ्चालक पक्राउ परेका छन् ।

दाङको गढवा गाउँपालिका वडा नं १ जेठानगाउँमा रहेको यूनिक मेडिकल सञ्चालक चेतराम चौधरीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । अर्घाखाँची सितगंगा नगरपालिका घर भई देउखुरी माइती आउनु भएकी सतिा कुमालले आफ्नो १८ महिने छोरो सुशान्त बिरामी भएपछि यूनिक मेडिकलमा उपचारका लागि लैजानुभएको थियो ।

बालकलाई उपचारका क्रममा मेडिकल सञ्चालक चौधरीले गलत औषधि प्रयोग गरेपछि बालक बेहोस भएको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । बालक बेहोस भएपछि उपचारको लागि बुटवल लगिएको थियो । उपचारकै क्रममा बालकको ज्यान गएको हो ।

बालकको शव लमही अस्पताल देउखुरीमा राखिएको र मेडिकल सञ्चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७६ मंगलबार ००:००  २ : ४९ बजे