१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

पाँचथर हत्याकाण्डबारे कांग्रेसले माग्यो सरकारको जवाफ



काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पाँचथरको मिक्लाजुङ गाँउपालिकामा भएको हत्याकाण्डबारे सरकारको जवाफ माग गरेको छ ।
सोमबार राति मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको विषयमा सत्यतथ्य जानकारी गराउन कांग्रेसले सरकारसँग माग गरेको हो । प्रतिनिधिसभा बैठकको शून्य समयमा पूर्व गृहराज्यमन्त्री समेत रहेका देवेन्द्रराज कँडेल, सचेतक पुष्पा भुसालले घटनाबारे जानकारी गराउन माग गरेका हुन् ।

सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरि हत्या भएको हो । धनराजको परिवारका पाँचजना र बमबहादुरको परिवारका चारजनाको हत्या भएका प्रहरीले जनाएको छ । सांसदहरुले घटनामा संलग्नलाई कारबाहीको दायरमा ल्याउन र घाइतेको उपचार गर्न माग गरेका छन् ।

घटनापछि प्रहरीले अनुसन्धान थालेको र केन्द्रबाट केन्द्रीय अनुसन्धान ब्युरोका प्रतिनिधि घटनास्थल पठाएको छ । घटनामा ७४ वर्षीय बमबहादुर फियाक, ३६ वर्षीया जस्मिता फियाक, २६ वर्षीया मनकुमारी फियाक, ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, नाम पहिचान नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७६ मंगलबार ००:००  १ : ५५ बजे