१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

प्रत्यक्षदर्शीको भनाईः मुखुण्डो लगाएर आएका समूहले ९ जनाको हत्या गरे



पाँचथर ।
मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति हत्या गरिएका सबैको पहिचान खुलेको छ। वडाध्यक्ष हस्तराज फियाकका अनुसार हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज सेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा सेर्मा, १३ वर्षीया योवना सेर्मा, आठ वर्षीया मुना सेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बूको रहेका छन् ।
घटनामा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । उनको हातमा चोट लागेको छ ।
मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।
धनराज र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको वडाध्यक्ष फियाकले बताए।

प्रकाशित मिति : ७ जेष्ठ २०७६ मंगलबार ००:००  १० : ५५ बजे