१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

रथयात्रा मार्फत शिशु बुद्ध तिलौराकोट भित्र्याइयो, तौलिहवाबासीले गरे भव्य स्वागत



मायादेवी अनलाइन, तौलिहवा ।
२५६३ औं बुद्ध जयन्ती बुद्धको जन्मस्थल लुम्बिनीमा हर्षौल्लासका साथ मनाइयो । शनिबार देशका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपि शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल लगायतका विशिष्ट पाहुना बुद्धजयन्तीमा सरिक भए । हजारौं सर्वसाधारण बुद्धजयन्तीको अवसरमा आयोजित कार्यक्रममा शनिबार सरिक बने । तर, आइतबार कपिलवस्तुमा छुट्टै रौनक देखियो ।
बुद्ध जयन्ती शनिबार परे पनि आइतबार कपिलवस्तुमा छुट्टै रौनक देखियो । शनिबार बुद्ध जयन्तीको दिन सुनसान जस्तै बनेको कपिलवस्तुको तिलौराकोट आइतबार भने छुट्टै रौनकमा थियो । प्रदेश नं. ५ का मुख्यमन्त्री सहितका व्यक्ति आइतबार तिलौराकोट देखिएका थिए । कार्यकम थियो मायादेवी प्रसुती उत्सव ।
बौद्धग्रन्थमा लेखिएअनुसार मायादेवी गर्भवती भएपछि दसौं महिनामा माइत देवदह जाने इच्छा गरिन । रम्य उद्यान लुम्बिनी पुगेपछि पालकीबाट ओर्लिएर प्राकृतिक सौन्दर्यको सुखानुभूत गर्न नपाउँदै शारीरिक स्वभावमा परिवर्तनसँगै शालको वृक्ष समातेर राजकुमार सिद्धार्थलाई जन्म दिइन । यो खबरले तिलौराकोट, कपिलवस्तु सहर र देवदहमा हर्सोल्लास भयो । सिंगो कपिलवस्तु सिंगारेर चिटिक्क पारियो ।
लुम्बिनीदेखि कपिलवस्तुसम्मको बाटो सफा गरियो । सयौं सैनिक र सुसारे फूलमालासहित सडकभरि खटिए । कपिलवस्तु र देवदहका सयौं गन्यमान्य लुम्बिनीमा भेला भए । सुत्केरी मायादेवी, शिशु सिद्धार्थसहित सयौं गन्यमान्य रथमा बसेर कपिलवस्तु फर्किए । कपिलवस्तुका प्रत्येक नागरिकले राजा शुद्धोधनलाई पुत्रलाभ भएको खुसीमा घरघरबाट स्वागत गरे । सिंगो कपिलवस्तुमा कयौं दिनसम्म खुसियाली मनाइएको स्मरण गर्दै रथयात्रा गर्ने चलन रहेको छ । यसैको सम्झनाका लागि आइतबार शिशु बुद्धलाई आइतबार रथयात्रामार्फत तिलौराकोट ल्याइएको छ ।
२५६३ औं बुद्धजयन्तीको अवसरमा मंगलबार शिशु बुद्धसहित लुम्बिनी–प्राचीन कपिलवस्तु रथयात्रा निकालिएको हो । उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय प्रदेश नं. ५ र लुम्बिनी विकास कोषले बुद्ध जन्मिएपछि अर्को दिन उनलाई राजधानी कपिलवस्तु ल्याउँदाको झल्को दिने गरी शिशु बुद्धलाई राखेर २६ किमिको भव्य रथयात्रा निकालेको हो । रथयात्रा पाँच वर्षअघि निरन्तर निकालिदै आइएको छ ।
रथलाई नव दुलहीजस्तो सजाएर धातुको बेबी बुद्धको मूर्ति राखेर यात्रा गरिएको हो । राजकुमार सिद्धार्थ जन्मिएपछि राजधानी कपिलवस्तु (तिलौराकोट) फर्किंदाको २६ सय वर्षअघिको क्षण बुद्धजयन्तीमा आफूले पहिलो पटक प्रत्यक्ष अनुभव गर्न पाएको कपिलवस्तुबासीले बताएका छन । लुम्बिनीदेखि ल्याइएको शिशु बुद्धलाई तिलौराकोट दरबारको पश्चिमी द्वारनजिकै राखेर कार्यक्रम गरिएको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६ आइतबार ००:००  ७ : २७ बजे