११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

मोटरसाइकल र स्कुटरमा पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने



काठमाण्डौ ।
उपत्यकामा दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने भएको छ । आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै दुई पाङ्ग्रे सवारी साधन ९मोटरसाइकल र स्कुटरपछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने नियम सुरु गर्न लागेको जानकारी दिएको हो ।

काठमाण्डौमा हुने दुई पाङ्ग्रे सवारी साधनको दुर्घटनालाई विश्लेषण गर्दा हेल्मेट लगाएको चालकभन्दा पछाडि बस्ने व्यक्ति घाइते भएको र मृत्युदर समेत पछाडि बस्नेको बढी रहेको देखाउँछ । यही कारणले गर्दा मोटरसाइकल र स्कुटर पछाडि बस्नेले अनिवार्य हेलमेट लगाउनुपर्ने व्यवस्था गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिनुभयो ।

महाशाखाले यातायात व्यवस्था ऐनमा संशोधन गरी हेलमेट अनिवार्य रुपमा लगाउनु पर्ने व्यवस्था गर्न यातायात व्यवस्था विभागमा अनुरोध गरेको जानकारी दिएको छ । यस्तै महाशाखाले उपत्यकामा सवारी चाप व्यवस्थित गर्दै कम गर्न मोवाइल एप प्रयोगमा ल्याउने भएको छ ।

पत्रकार सम्मेलनमा प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक पन्तले जीआइयस प्रविधिमा आधारित एपले उपत्यकाको ट्राफिक जाम, बाटो डाइभर्सन लगायतको महत्वपूर्ण सूचना हरेक १५ मिनेटमा दिने बताउनुभयो ।
यस्तै महाशाखाले विभिन्न नियम मिचेर सवारी चलाएका चालकले तिर्नुपर्ने जरिवाना तिर्न पनि बैंकमा लाइन बस्नु नपर्ने नियम बनाउन लागेको बताएको छ । फिल्डमा खटिएको ट्राफिक प्रहरीले इ(चलानीमार्फत नियम उल्लङ्घन गर्ने चालकलाई चिट दिनेछ र यो चिटको आधारमा सवारी चालकले इ(पेमेन्ट गर्न सक्नेछन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६ आइतबार ००:००  ४ : ३९ बजे