१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

प्रदेश ५ मा महिला हिंशाका घटनामा बृद्धि



बुटवल ।
पछिल्लो समय प्रदेश ५ मा महिला हत्याका घटना बढेका छन । चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको १० महिनामा प्रदेशमा ४१ महिलाको हत्या भएको छ । ३ सय ६४ महिलाले आत्महत्या गरेका छन् । आत्महत्या गरेका धेरैमा हिंसा सहन नसकेर आत्महत्या गरेको उल्लेख छ ।

कतिपयमा आफन्तले हत्या नै भएको जाहेरी दिएका छन् । प्रदेशका प्रहरी कार्यालयहरूमा दिनहुँजसो प्रहरीमा हत्या भएका वा आत्महत्या गर्न बाध्य भएका उजुरी आउने गरेका छन् । महिला मृत अवस्थामा भेटिने तर अनुसन्धान गर्दै जाँदा हत्या भएको वा आत्महत्या गर्न बाध्य भएका घटना धेरै भएको प्रदेश ५ प्रहरी कार्यालय दाङका प्रवक्ता टीकाबहादुर कार्कीले बताए । धेरै घटनामा घरपरिवार नै संलग्न भएको पाइएको छ ।

प्रहरी अनुसन्धानमा लोभ, लालच र इगोलाई बेलैमा समाधान गर्न नसक्दा ससाना विवाद र कारणमा महिला हत्याका घटना भएकोे देखाइएको छ । श्रीमान–श्रीमती र घरपरिवार, साथी तथा छिमेकी बीचको अविश्वास बढ्दा पनि धेरै हत्याका घटना भएका छन । अपरिपक्व उमेरमा हुने प्रेमसम्बन्ध, यौन विचलन र नशालु पदार्थको सेवनले पनि महिलामाथि हिंसा हुँदै हत्यामा परिणत भएका छन ।

महिला अघि बढ्नु वा सक्षम हुनु पुरुषको अधिकार खोसिनु हो भन्ने हिसाबको बुझाइले रोक्न खोज्दा पनि कतिपय हत्या भएका छन । हिंसा सहने धेरै महिला हिंसामै छन । धेरैमा हिंसा सहन नसकेर उपाय खोज्ने वा प्रतिकार गर्न खोज्ने महिलाको हत्या भएको छ ।

त्यसको उदाहरण वाणगंगा नगरपालिका बालापुरकी २१ वर्षीय सुनीता थारू हुन । १६ वैशाखमा उनको शव हत्या गरी फालिएको अवस्थामा घर नजिकैको वाणगंगा खोला किनारमा भेटिएको थियो । पारिवारिक मनमुटावपछि उनी र उनका पति सुरेश थारूबीच हत्याको अघिल्लो दिन प्रहरीमा मिलापत्र भएको थियो ।

कागजी रूपमा मिलापत्र भए पनि सुरेशले त्यसको इगो पालेका थिए । यही इगोका कारण हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६ आइतबार ००:००  ८ : ४२ बजे