१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

४ नम्बर वडाको नमुना काम, वृद्धाश्रम बनाउँदा परिवार दायित्वबाट वञ्चित भएः मेयर थारु



मायादेवी अनलाइन, कपिलवस्तु ।
बाणगंगा नगरपालिका वडा नम्बर- ४ ले नमुना र उदाहरणीय काम गरेको छ । वडाको लक्षित वर्गको कार्यक्रम अनुसार शनिबार बुद्धजयन्तीको दिन कपिलवस्तु सामुदायिक अस्पत्ताल चार नम्बर जितपुरमा नगरका जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो भने वडाका असल बुहारीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख मंगल प्रसाद थारुले घरका जेष्ठ नागरिकलाई वृद्धाश्रममा लगेर छोड्ने कार्य गलत भएको भन्दै बाँचुञ्जेल उनीहरुलाई घरमै सेवा दिनु पर्ने बताउनुभयो । मुलुकमा पछिल्लो समय वृद्धाश्रम बनाउने काम भैरहेको बताउँदै त्यसले वृद्धावृद्धालाई गर्नुपर्ने दायित्वबाट परिवारलाई बंचित बनाएको बताउनु भयो । वृद्धाश्रम बनाउने कार्य राम्रो भए पनि घरमा आमाबुबाको सेवा गर्दा राम्रो हुने मेयर थारुको भनाई छ ।
वडा नम्बर ४ ले उमेर पुगेका आमाबुबाको लागि निशुल्क स्वास्थ्य जाँच राखेर निकै राम्रो काम गरेको भन्दै यसमा जहिले पनि आफ्नो साथ हुने बताउनुभयो । वडामा असल बुहारी सम्मान कार्यक्रम नौलो भएको भन्दै यो सम्मानले घरमा वृद्धवृद्धाको सम्मान तथा सेवामा परिवारका सदस्य तथा अन्यलाई थप हौसला प्रदान गरेको मेयर थारुले बताउनुभयो ।


उप-मेयर चक्रपाणी अर्यालले निशुल्क रुपमा प्रदान गरिएको स्वास्थ्य शिविरमा आफ्ना सबै समस्या डाक्टर समक्ष खुलस्त रुपममा राख्न आग्रह गर्दै सम्मानित हुने अवसर पाउने बुहारीलाई बधाइ दिनु भयो । सम्मानको लागि भन्दा पनि मानवीय धर्मको लागि सबै घरका छोराछोरी नाति-नातिना, बुहारी, श्रीमान् श्रीमती सबैले आ-आफ्नो घरका वृद्धवृद्धाको सेवा र सम्मान गर्नुपर्ने अर्यालले बताउनु भयो ।

कार्यक्रममा वडा भित्रका ४० बढी असल बुहारीलाई सासु-ससुरा सहित दोसल्ला, प्रमाणपत्र र अविरले सम्मान गरिएको थियो भने निशुल्क स्वास्थ्य शिविरबाट ५ सय बढी जेष्ठ नागरिकले सेवा लिएका थिए ।
सामुदायिक अस्पत्तालका डाक्टरले परीक्षण गरेको शिविरमा जेष्ठ नागरिकले उच्च रक्तचाप, श्वास-प्रश्वास, हाडजोर्नी, पेट, मुटु, ज्वरो लगायतका स्वास्थ्य समस्या राखेका कार्यक्रमका अध्यक्ष वडाध्यक्ष गणेश क्षत्रीले बताउनुभयो । कार्यक्रममा यस क्षेत्रका समाजसेवी, शिक्षाप्रेमी तथा बुद्धिजिवीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६ आइतबार ००:००  ६ : ३४ बजे