१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

लुम्बिनीलाई पवित्र भूमिको रुपमा थप विकास गरिनेः प्रधानमन्त्री ओली



लुम्बिनी ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वशान्तिको प्रेरणास्थलको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।

२५६३औँ बुद्धपूर्णिमाको अवसरमा लुम्बिनीस्थित थाई विहारमा आयोजित भिक्षुभिक्षुणीहरुलाई संघ दान गर्ने कार्यक्रमको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले बुद्धसमुदायसँगको सहकार्यमा लुम्बिनीको पूनर्जीवन दिने गरी काम अघि बढाउने प्रतिबद्धता जनाए ।

‘विगतका वर्षमा लुम्बिनीका लागि धेरै प्रयासहरुले सार्थक रुप लिदैँ गएका छन्, उनले भने–यो वर्षदेखि योजनाबद्ध ढंगले सरकार अघि बढेको छ, लुम्बिनीबाट विश्वसमुदायलाई बुद्धका सन्देशहरु फैलाउनका लागि लुम्बिनीलाई पवित्र भूमिको रुपमा थप विकास गरिनेछ ।’

प्रधानमन्त्री ओलीले १९ वटा बौद्धमार्गी मूलुकहरुसँग सहकार्य गरिएको स्मरण गर्दै सरकार लुम्बिनीको विकासमा केन्द्रित रहने बताए ।

सो अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले लुम्बिनीमा धार्मिक तथा पर्यटकीय गतिविधिहरु बढाउँदै लग्ने प्रतिबद्धता जनाए ।

थाई विहारका भिक्षु सुपथले प्रधानमन्त्रीको उपस्थितिमा विहारमा बौद्धसमुदायलाई नै सन्देश दिने गरी कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गरे ।

प्रकाशित मिति : ४ जेष्ठ २०७६ शनिबार ००:००  २ : ३९ बजे