लुम्बिनी ।
आज वैशाख शुक्ल पूर्णिमा २५६३ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइदैंछ । नेपालको लुम्बिनीमा २५६० वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो ।
छ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो । बुद्धले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि दिनुभएको छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्दछन् ।
यसैगरी, पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका ताराका रुपमा सम्मान गरिन्छ । वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धको पूजा गरी बुद्ध जयन्ती मनाउने चलन छ ।
यसैबीच बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा प्रधानमन्त्री केपि शर्मा ओली सहित विभिन्न देशका बौद्ध विद्धान, भिक्षु लगायतको सहभागिता रहने छ ।
कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली हिजो नै लुम्बिनी आईपुग्नुभएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारी आउनुहुनेछ । कार्यक्रमका लागि लुम्बिनीलाई निकै आकर्षक ढङ्गले सजाइएको छ । कार्यक्रमलाई ध्यानमा राखेर सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।
यसैबीच प्रदेश नं. ५ मा आज देखि लुम्बिनी भ्रमण बर्ष सुरु भएको छ । प्रदेश सरकारले प्रदेश ५ लाई आज देखि लुम्बिनी भ्रमण बर्षको सुरुवात गरेको हो । आज बुद्धजयन्तीको अवसरमा आयोजित कार्यक्रममा लुम्बिनी भ्रमण बर्षको औपचारिक सुरु भएको जानकारी दिइनेछ ।
प्रतिक्रिया