१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

प्रधानमन्त्रीले भने, तिलौराकोटको ‘असाधारण विकास’ हुन्छ



दिपक अनुरागी, तौलिहवा ।

दिनभरको चर्को गर्मी । मध्यान्न पछिको त्यो हावाहुरी । शुक्रबार दिनभरको वातावरण त्रासदी पूर्ण रह्यो । तरपनि २५६३ औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा कपिलवस्तुबासीमा केही नयाँ आशाका किरण देखा परेका छन् । बर्षौ देखि राज्य पक्षबाट उपेक्षित रहदै आएको तिलौराकोटमा शुक्रबार साँझ नयाँ आशाका किरण देखा परेका हुन् । त्यहि पनि मुलुकका प्रधानमन्त्रीबाट । यो भन्दा ठूलो खुसी जिल्लाबासीलाई केही हुन नसक्ने सरोकारवालाको दाबी छ ।

तिलौराकोट विश्वले मान्ने एउटा ऐतिहासिक भूमि हो । महामानवको रुपमा संसारले मानेका भगवान गौतम बुद्धले २९ बर्ष विताएको भूमि हो । संसारका बौद्ध धर्मावलम्वीको आस्थाको धरोधर हो । यति मात्र होइन्, गौतम बुद्धका मातापिताको राजदरबार पनि तिलौराकोट हो । तिलौराकोट नै भगवान गौतम बुद्धको वास्तविक घर हो । यद्यपि गौतमबुद्धकी आमा मायादेवी आफ्नो माइती घर देवदह जादा लुम्बिनीमा गौतम बुद्ध संयोगले जन्मिएका हुन् । लुम्बिनी नै गौतम बुद्धको जन्मस्थल हो । यसमा कुनै दुविधा छैन् । तिलौराकोटबाट नजिकै रहेको लुम्बिनी नेपालकै भूमि हो । अझ देश भन्दा ठूलो अरु कहाँ हुन्छ र ?

तरपनि, कपिलवस्तुले बर्षौ देखि आफु उपेक्षित भएको अनुभूति गर्दै आएको छ । त्यसैमा पनि दर्जन बढी बौद्धस्थल रहेका कपिलवस्तुमा तिलौराकोटले अझै बढी आफु उपेक्षित भएको महशुस गरेको छ । छिमेकी मित्र राष्ट्रले त्यसैमा दिएको नमिठो चोटले कपिलवस्तु वास्तविक घाइते बनिरहेको छ । बर्षौ देखि घाइते बन्दै आएको कपिलवस्तुलाई मलहम कस्ले लगाई देला ? बारम्बार यही प्रश्नले गिजोली रहेको अवस्थामा शुक्रबार साँझ प्रधानमन्त्री ओलीले गम्भिर चोटलाई सहानुभूति दिनुभएको छ ।

प्रतिकूल मौसमका बाबजुत पनि तिलौराकोट भ्रमणमा आएर प्रम ओलीले यहाँको विकास असाधारण हुने बताउनुभयो । झण्डै आधा घण्टा हिडेरै तिलौराकोटको जानकारी लिनुभएका ओलीले सञ्चारकर्मी संग निकै संक्षिप्त कुराकानी गर्दै तिलौराकोटको विकास हरतवरले हुने बताउनुभएको हो ।

यहाँको बाटोघाटोको अवस्था निकै नाजुक छ । सदरमुकामबाट नजिकै रहेको यस स्थानमा आउने बाटोको बेहालले गिज्जाइरहेको बेला प्रम ओलीले यहाँको बाटोघाटो पनि चाडै बन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । तिरौराकोटलाई धार्मिक तथा ऐतिहासिक रुपले विकास गर्ने भन्दै अरु कुरा पछि गर्ने भन्दै प्रम ओली विदा हुनुभयो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६ शुक्रबार ००:००  १० : १९ बजे