१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

इतिहासको भारी ‘ठसठसी’ कन्दै बोक्दै हिँड्ने प्रवृत्तिले पार्टी बन्दै बन्दैनः मुख्यमन्त्री पोख्रेल



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।

मदन आश्रित स्मृति दिवसको अवसरमा नेकपा कपिलवस्तुको एकै मञ्चमा पार्टीका शीर्ष नेताहरु देखा परेका छन् । तत्कालिन एमाले नेताद्धय मदन भण्डारी र जीवराज आश्रितको २६ औँ स्मृति दिवस तथा नेकपा कपिलवस्तुका जिल्ला कमिटि सदस्यको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रममा प्रदेश ५ का इन्चार्ज तथा मुख्य मन्त्री शंकर पोख्रेल, स्थायी कमिटि सदस्य तथा कृषि पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल बलदेव र नेकपा प्रदेश कमिटी अध्यक्ष तथा पूर्व सभामुख ओनसरी घर्ती एकै मञ्चमा देखा परेका हुन् ।

विरलै एकै मञ्चमा देखा पर्ने नेतात्रयको सम्बोधनले पार्टी पंतीमा एक मत रहेको सन्देश दिएको छ । सम्बोधनको क्रममा उनीहरुले स्वर्गिय मदन आश्रितको योगदानको मुक्तकण्ठले चर्चा गर्दै तत्कालिन समयका नायक स्वर्गिय नेता भण्डारी र आश्रित अहिले पनि सबैका प्रेरक भएको हुनाले उहाँले देखाएको बाटोमा हिड्नु उहाँहरुप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । यस्तै सरकारले राम्रो काम गर्दागर्दै पनि विपक्षीले फिँजाएको भ्रमप्रति पनि कडा रुपमा प्रस्तुत भए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ५ का मुख्यमन्त्री एवम् इन्चार्ज शंकर पोख्रेलले युग नायक स्वर्गिय नेता भण्डारी र आश्रितको स्मृति दिवसलाई नै पार्टीको एकता दिवसको रुपमा मनाउनुपर्ने धारणा राख्नु भयो । सम्बोधनको अधिकांश समय पार्टी एकताको विषयमा खर्च गर्नुभएका प्रमुख अतिथि पोख्रेलले पार्टी एकताको काम लगभग सकिए पनि थुप्रै चुनौति भने बाँकी रहेको बताउनुभयो ।

तत्त्कालिन समयमा दुई भिन्न भिन्न विचार र पृष्ठभूमिबाट आएका पार्टीहरुको मेल आफैमा सामान्य नभएको भन्दै यसलाई सजिलो गरी नबुझ्न पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो । एकता प्रकृया लगभग टुङ्गिएकाले यसलाई सफल बनाउन भने धेरै परिश्रम गर्नुपर्ने उहाँको भनाई छ । ठुलो त्यागपछि बनेको पार्टी एकतालाई बजबुत बनाउन अब विगतको इतिहास बिर्सनु पर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो– “इतिहासको भारी बोकर ‘ठस्ठसी’ कनेर बोक्दै हिँड्ने हो भने पार्टीले गति लिन सक्दैन विगतमा कसले के गर्यो सम्झने होइन । त्यसलाई बिर्सनु पर्दछ । देशी विदेशी शक्ति केन्द्रले पार्टी एकता र मुलुकको आर्थिक सवृद्धि नचाहाने भएको अनेक भ्रम फिँजाउन सक्ने भएको हुँदा यसलाई चिरेर अघि बढ्नु पार्टीको आजको आवश्यकता भएको उहाँको भनाई छ ।

सरकारले जनहितमा काम गर्दा विपक्षीको टाउको दुखेको हुनाले अनावश्यक भ्रम फिजाईरहेको बताउँदै उहाँले प्रश्न गर्दै भन्नुभयोे– “यातायत सिण्डिकेटको अन्त्य, समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्नुपर्छ भन्नु,सरकारी जग्गा हडप्न खोज्नेलाई अनुसन्धानको दायरामा ल्याउनु, जनता ठग्ने ठेकेदारलाई कारबाही गर्नुपर्छ भन्नु के नराम्रा काम हुन् ?” सरकारले गरेका काम राम्रा भए पनि विरोध गरिरहेका प्रति चर्को रुपमा प्रस्तुत हुनुभएका पोख्रेलले सरकार धेरै हिसाबमा सह िदिशामा भएको बताउनु भयो । यी विकृतिमाथि सुधार ल्याउने सरकारको चाहाना हुँदा हुँदै पनि केही विषयमा तयारी नपुग्दा कार्यान्वयन गर्न कठिन भएको उहाँको स्विकारोक्ति छ ।

मुख्य मन्त्री पोख्रेलले युग बनाउने युगको सुरुवात बल्ल भएको र त्यसको नेतृत्व नेकपाले गरेको दाबी गर्दै भन्नुभयो–“मुलुकले अब तीव्र सवृद्धि हासिल गर्छ । जनताको आर्थिक स्तर बढ्छ । त्यसको लागि जनताले अझ केही समय पर्खनु पर्दछ ।” राजनैतिक लडाई सकिएकाले अब पार्टी,सरकार र नेता कार्यकर्ता सबै मुलुकको आर्थिक विकासमा केन्द्रित हुनुपर्ने उहाँको धारणा छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटि सदस्य तथा कृषि मन्त्री चक्रपाणी खनाल बलदेवले स्वर्गिय नेता भण्डारी र आश्रिमतको योगदानको स्मरण गर्दै माओवादी र एमालेको एकतालाई आश्चर्य मान्न नहुने बताउनु भयो । विगतका ऐतिहासिक आन्दोलनमा पनि प्रत्यक्ष परोक्ष रुपमा बामपन्थी घटक एकै स्थानमा रहेको भन्दै यो मिलनलाई आश्चर्यको रुपमा नहेर स्वाभाविक रुपमा हेर्नुपर्ने बताउनुभयो ।

पार्टीको एकतालाई मजबुत बनाउन अब तलदेखि माथिसम्म सुधार आवश्यक रहेको भन्दै पार्टीले गरेका राम्रा कामलाई ब्यापक रुपले प्रचार गर्नु नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । वैचारिक लाइनमा पनि पार्टीमा एक मत रहेकाले बाँकी कुरा एकता महाधिवेशनले टुङग्याउने उहाँको भनाई छ । कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तीले नेकपा सरकारले अब जनताले चाहेको सपना पुरा गर्ने दाबी गर्नुभयो ।

सरकार र पार्टीको सम्बन्ध सुमधुर बनाउनपार्टीले निर्माण गरेको संयन्त्रमा सरकार चल्नु पर्ने भन्दै महिला नेतृ घर्तिले सरकार संचालनको लागि पार्टीले छुटै संयन्त्र निर्माण गर्न लागेको जानकारी दिनुभयो । पार्टीभित्रका हिजोका मतभेद छोडेर अब सबै एक भएमा मात्र मुलुकले विकासमा फड्को मार्ने पनि उहाँको धारणा छ ।

जिल्ला कमिटि सदस्यहरु (१५५) द्धारा सपथ
यसैबीच सोही कार्यक्रमा नेकपा कपिलवस्तुका जिल्ला कमिटि सदस्यहरु (१५५) ले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । नेताहरुलाई प्रदेश इन्चार्ज शंकर पोख्रेलले सपथ खुवाउनु भएको थियो ।

सपथ ग्रहणमा बोल्दै पार्टीका शीर्ष नेताहरु खनाल,पोख्रेल र घर्तिले जनहितमा काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । जिल्ला कमिटिमा चयन भएका नेताहरुको काँधमा अब ठुलो जिम्मेवारी आएको भन्दै आफ्नो हित भन्दा पनि राष्ट्र र जनताको हितमा काम नगरे पार्टीको अस्तित्व नरहने बताउनु भएको थियो । हिजोसम्म जनवर्गिय संगठन लगायत तल्लो तहको कमिटिलाई के गर्ने ? कसो गर्ने भन्ने द्धिविधा रहे पनि आजको मितिदेखि त्यो छुट कसैलाई नभएको नेताहरुले बताउनु भएको छ ।

सपथ ग्रहण पछि जिल्ला अध्यक्ष झविलाल पोख्रेलले आफू लगायत सबैले जनताको हितमा रहेर काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । सराकारले राम्रो काम गर्दागर्दै पनि नेता त्यसलाई जनतामाझ पुर्याउन नसक्दा प्रतिपक्षीले फाइदा उठाएको भन्दै अब आफूहरुले सरकारका राम्रा कामलाई लिएर जनतामाझ जानु पर्ने बताउनु भयो ।

र त्यही अनुसार तयारी अवस्थामा रहन पनि चयन भएका सबै सदस्यलाई उहाँले आग्रह गर्नु भएको छ । दुई ठुला पार्टीमा धेरै सदस्य रहेका कारण सबैको चित्त बुझाउन असम्भव भएकाले गलत ढंगले नबुझ्न पनि जिल्लाका नेता कार्यकर्तालाई पोख्रेलको आग्रह छ । कार्यक्रम जिल्लाध्यक्ष पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रिय केन्द्रियहरु गिरीधारीलाल न्यौपाने, विमला घिमिरे, संविधान सभा सदस्य बलराम अधिकारी लगायतको उपस्थििति रहेको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६ शुक्रबार ००:००  ८ : ३४ बजे