१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

सर्वसाधारणले ढाटमा आगो लगाए, एक प्रहरी घाइते



चितवन ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा सर्वसाधारणले आज आगो लगाएका छन् । आगो नियनत्रणमा क्रममा प्रहरी सहायक निरीक्षक गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहका अनुसार बिहान ११ बजेको समयमा ३०–४० जनाको समूहले पेट्रोल छर्किएर ढाटमा आगो लगाएका हुन् ।

सो क्रममा आगो नियन्त्रणको प्रयास गर्दा त्यहीँ कार्यरत प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भएकी हुन् । शाहका अनुसार खड्काको हात, खुट्टा, शरीर र टाउकामा आगोले पोलेको छ । घाइते खड्काको गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । आगलागीबाट ढाटमा रकम सङ्कलन गर्न कर्मचारी बस्ने गरेको काउण्टर पूर्णरुपमा क्षति भएको शाहले बताए । पूर्वी चितवनवासीले यसअघि नै सो ठाउँबाट ढाट हटाउन स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए ।

शाहले चितवन क्षेत्र नं १ ९ख० का प्रदेशसभा सदस्य कृष्ण खनालको नेतृत्वमा आगो लगाइएको बताए । तर खनालले भने आफू घटना हुँदा सो स्थलमा भए पनि आफ्नो नेतृत्वमा आगो लगाउने काम नभएको भन्दै आक्रोशित जनताले आगो लगाएको बताए ।

प्रहरी प्रशासनले ठेकेदारसँग आर्थिक प्रलोभनमा परी त्यहाँ ढाट राख्न दिएको भन्दै अब तत्काल ढाट नहटाए स्थानीयवासीले सहेर नबस्ने खनालले बताए । उनले ढाटलाई सीमा क्षेत्रमा लैजानुपर्ने बताए । आफ्नै सदरमुकाम आउँदा–जाँदासमेत राजश्व तिर्नु परेपछि पूर्वी चितवनवासी मर्कामा परेको उनको भनाई छ ।

ढाटमा आगो लगाएको आरोपमा प्रहरीले रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६ शुक्रबार ००:००  २ : ४६ बजे