१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

वडा अध्यक्ष बेल्वासे भन्छन्, बजेटको ओइरो छ, विकास नसोचेको हुन्छ



मायादेवी अलनाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ध्रुव बेल्वासेले आफ्नै कार्यकालमा वडाले काचुँली फेर्ने बताउनुभएको छ । चुनाव ताका जनता बीच गरेका प्रतिवद्धता भन्दा वडामा बढी विकास हुने बताउँदै वडा अध्यक्ष बेल्वासेले वडाबासीलाई हरेक क्षेत्रमा सघाएर हातेमाले गर्न आग्रह गर्नुभयो । वडा कार्यालयको आयोजना तथा मायादेवी मिडिया ग्रुप प्रा.लि.को प्राविधिक सहयोगमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उहाँले वडाको विकासमा तीनै तहका सरकारबाट बजेटको ओइरो लागेको जानकारी दिनुभयो ।
भुगोल र जनसंख्याको हिसाबले नगरपालिकाबाट सबैभन्दा बढी बजेट वडामा आएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । नगरबाट मात्र नभए संघीय र प्रदेश सरकारबाट ठूला ठूला करोडौंका योजनाहरु वडामा सञ्चालन भैरहेको उहाँले जानकारी दिनुभयो ।
वडामा संघीय सरकारबाट करोडौंका ठूला आयोजनाहरु सञ्चालन भैरहेको उहाँले बताउनुभयो । जसमा संघीय सकारका ठूला योजना अन्तर्रगत भर्लाबास–भर्तापुर खानेपानी योजनाका लागि १ करोड, एसएनआरडिपी अन्तर्रगत विश्व बैंकको लगानीमा १ करोड २३ लाख र बनगाई–डोहोटे सडकका लागि १५ करोड बजेट आएको उहाँले जानकारी दिनुभयो ।
यस्तै प्रदेश सरकारबाट ‘स्मार्ट कृषि गाउँ’, नदीकटान नियन्त्रणका लागि तटबन्ध कार्यक्रम, कपिलधाम पर्यटन प्रर्बधन जस्ता महत्वपूर्ण कार्यक्रमहरु वडामा सञ्चालन भएको बताउनुभयो । संघीय सरकारबाट सिंचाई र कृषिको लागि जिल्लामै सबैभन्दा बढी वडामा आएको उहाँले बताउनुभयो ।
वडाबासीको विकास निर्माणमा देखिएको सक्रियता र ऐक्यवद्धताले बजेटको ओइरो लागेको बताउँदै अब सबै मिलेर वडालाई देशको नमुना बनाउने अभियानमा लाग्न वडा अध्यक्ष बेल्वासेले आग्रह गर्नुभएको छ । तीन सरकारको गठन संगै गाउँमा बजेट आउने क्रम बढेको भन्दै अब विकास निर्माणले चमत्कार लिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कर्मचारी अभावको कारण सेवाप्रवाहमा केही कठिनाई भएको स्विकार गर्दै उहाँले त्यसलाई पनि समाधान गर्ने दिशामा आफु लागेको उहाँले बताउनुभयो । कम कर्मचारीको बाबजुट पनि आफुले सेवाप्रवाहलाई छिटो र छरिटो बनाउने कसरतमा लागेको उहाँले बताउनुभयो ।
कार्यक्रममा वडाबासीले कृषिको पकेट एरिया तोक्नुपर्नुेमा जोड दिएका थिए । नेपाललाई कृषि प्रधान देश भनिए पनि कृषि क्षेत्रलाई व्यवसायिक बनाउन नसकिएको भन्दै यसमा वडाले विशेष ध्यान दिन सुझाव दिइएको छ ।
यस्तै वडामा अझै पनि विद्युतको समस्या रहेको भन्दै सहभागीले यस तर्फ ध्यान दिन वडा अध्यक्षको ध्यानाकर्षण गराएका थिए । वडामा नदीकटानको समस्या पनि व्यापक रहेको भन्दै तटबन्ध गर्न तर्फ ध्यान दिन सुझाव दिएका थिए । बर्षौ देखि वडामा खानेपानीको समस्या रहेको भन्दै ओभरहेड ट्याङ्की निर्माणमा वडाको योजना के छ भन्दै वडाबासीले प्रश्न राखेका थिए ।
यसैगरी कृषि, शिक्षा, सिंचाई, विकास निर्माण, सेवाप्रवाहको बारेमा आ आफ्ना गुनासा राखेका थिए । वडाबासीले वडा स्तरको विकास हुँदै गरे पनि सबैको साथ र सहयोग लिएर अगाडी बढ्न वडा अध्यक्ष बेल्वासेलाई सुझाव दिएका थिए ।


कार्यक्रममा मायादेवी मिडिया ग्रुपका सम्पादक दिपक अनुरागीले नागरिक प्रतिवेदन र बर्हिगमन अभिमत प्रस्तुत गर्नुभएको थियो । मिडिया ग्रुपका अध्यक्ष तथा कार्यकारी निर्देशक हरि अधिकारीको स्वागत मन्तव्य र प्रधान सम्पादक चन्द्रकान्त न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा वडा सदस्य, राजनीतिक दलका प्रमुख, नागरिक अगुवा, टोल विकास संस्थाका प्रमुख, शिक्षाप्रेमी, भद्रभलाद्मी, सामुदायिक बनका प्रमुख, सहकारी, कृषक लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७६ बिहिबार ००:००  १० : ४९ बजे