१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

६ महिनादेखि बन्द कोठा खोल्दा चरेश भेटियो



नेपागलञ्ज ।
नेपालगञ्जमा लामो समयदेखि बन्द रहेको कोठा खोल्दा चरेश फेला परेको छ । बसपार्क पछाडि रहेको एक घरमा भाडामा बसेका व्यक्ति ६ महिनादेखि सम्पर्कमा नआएपछि कोठा खाली गरिएको थियो । कोठा खोल्दा साढे चार किलो चरेश बरामद भएको हो । रोल्पाकी रेखा पुन नाम गरेकी महिलाले कोठा भाडामा लिएकी थिइन् ।
घर मालिकले प्रहरीको रोहबरमा कोठा खाली गराएका थिए । ६७ महिनादेखि कोठा बन्द थियो । भाडामा बस्ने मान्छे पनि सम्पर्कमा आएनन् ।

घर मालिकले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर प्रहरीको रोहबरमा कोठा खाली गर्दा साढे चार किलो चरेश फेला परेको बाँके प्रहरीका प्रवक्ता प्रकाश सापकोटाले बताउनुभयो । ५ नम्बर प्रदेश र कर्णाली प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने चरेशको बजार नेपालगञ्ज र भारतीय शहर नै हुन् । नेपालगञ्जमा चरेश ‘जम्मा पारेर पायक पर्दा भारततिर सप्लाई’ गर्ने गरेको पाइन्छ ।
पहाडी जिल्लाका महिलालाई नेपालगञ्ज नाकाबाट चरेश पास गराउन प्रयोग गर्ने गरिन्छ । केही पैसाका लागि महिलाहरु चरेश बोक्न तयार हुँदा भारतको जेलमा पुगेकाको संख्या बढ्दो रहेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७६ बिहिबार ००:००  १० : २४ बजे