भैरहवा ।
२५६३ औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवसको तयारी अन्तिम चरणमा पुगेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको सम्झनाका रुपमा मनाउने गरिन्छ । बुद्धपूर्णिमाकै दिनलाई लुम्बिनी दिवसको रुपमा पनि मनाईँदै आएको छ । जेठ ४ गते परेको बुद्ध पूर्णिमालाई भव्य बनाउन लुम्बिनी विकास कोष र प्रदेश ५ सरकारले विभिन्न समिति, उपसमितिहरु गठन गरेर काम गरिरहेको छ ।
यता बुद्ध पूर्णिमा नजिकिँदै गर्दा लुम्बिनीमा निरन्तर सरसफाई गरिएको छ । विकास कोषका कर्मचारी तथा नेपाली सेनाले लुम्बिनी परिसरमा सरसफाई गरिरहेका छन् भने लुम्बिनी वरिपरिका सडकहरु सरसफाई गर्ने काम पनि तीव्र भएको छ ।
बुद्ध पूर्णिमा मनाउन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, विभिन्न मुलुकका बौद्धमार्गीहरु, भिक्षुभिक्षुणीहरुलगायत लुम्बिनी आउनेछन् ।
लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री ओली बुद्धपूर्णिमा मनाउन अघिल्लो दिन नै बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्नुहुनेछ ।
जेठ ३ गते शुक्रबार दिउँसो लुम्बिनी आउने प्रधानमन्त्री ओली कपिलवस्तुस्थित शुद्धोधनको दरबार रहेको तिलौराकोट र अन्य बुद्धस्थलहरुको अवलोकन गर्ने कार्यक्रम तय भएको छ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयका अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार बेलुका मायादेवी मन्दिरअघिल्तिर बसेर बुद्ध पूर्णिमा प्रार्थना र ध्यान गर्नुहुनेछ ।
त्यसपछि उहाले अर्को दिन बिहान बुद्ध पूजा र शान्र्ति यालीमा सहभागी हुनेछन् । भिक्षुहरुलाई चिवर दान दिने कार्यक्रम पनि रहेको छ ।
यस्तै सोही दिन लुम्बिनीमा २ हजार ६ सय ४३ वटा बिरुवा रोप्ने कार्यक्रमको सुरुवात पनि प्रधानमन्त्रीले गनुहुनेछ ।
बुद्धको महापरिनिर्वाणपछि मनाउन थालिएको बुद्ध पूर्णिमा २५ सय ६३ औँ वर्ष पुगेको र बुद्धको जन्म त्यसभन्दा ८० वर्षअघि भएकोले बुद्ध जन्मिएको २६ सय ४३ वर्ष पुगेको अवसरमा त्यति नै संख्यामा बिरुवा रोप्ने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले बताउनुभयो । त्यसपछि बिहान ११ बजे मुल समारोह सुरु हुनेछ ।
बुद्ध पूर्णिमाको अवसर पारेर रुपन्देही, कपिलवस्तु र नवलपरासीका २३ वटा विद्यालयका १ सय जना विद्यार्थीहरुलाई ५–५ हजारका दरले छात्रवृत्ति वितरण गरिने छ ।
बुद्ध जयन्तीको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा ५ सय ६३ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ भने विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयको अध्यक्षतामा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।
विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयको संयोजकत्वमा पुरस्कार तथा सम्मान व्यवस्था समिति, निमित्त सदस्य सचिव सरोज भट्टराईको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ ।
प्रतिक्रिया