काठमाडौं ।
साताव्यापी भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । भियतनाम र कम्बोडियाको भ्रमणमा निस्किएका ओली गएराती स्वदेश फर्किएका हुन । स्वदेश फर्किए लगत्तै पत्रकार भेटघाटमा बोल्दै ओलीले संसदमा हालै दर्ता भएका केही विधेयकमा उठेका प्रश्नको जवाफ दिएका छन् ।
पत्रकार भेटघाटमा प्रश्नको उत्तर दिँदै उनले सरकारले अघि सारेका विधेयकमा संसदमा छलफल हुनुपूर्व बाहिर फरक रूपमा व्याख्या वा दस्तावेज च्यात्ने कार्य ठीक नभएको जनाए।
ती विधेयकलाई संसद्ले यथोचित रूपमा पारित गर्ने विश्वास उनले व्यक्त गरे। प्रधानमन्त्री ओलीले नेपाली समाजलाई आधुनिक, विकसित र सभ्य बनाउन समाजले कानुनको आफैं परिपालना गर्ने अभ्यासमा जानुपर्नेमा जोड दिए। सरकारले हालै संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकबारे नेपाल पत्रकार महासङ्घले विरोध गर्दै आएको छ ।
प्रधानमन्त्री ओलीले भने, ‘असभ्यतालाई बहादुरी ठान्नु समाजका लागि चुनौती हो। विधेयकहरूमा छलफल र परिमार्जन गर्न सकिन्छ । आवेग र उत्तेजनामा आउन आवश्यक छैन । सरकारले कुनै पनि कानुन हचुवाका भरमा ल्याउँदैन । आक्रोशपूर्ण, निराधार र अनुचित कुराहरूले समाजलाई विकृतितर्फ लैजान्छ ।’ वर्तमान सरकार जननिर्वाचित सरकार भएकाले यसलाई कोष्ठभित्रको ‘कम्युनिस्ट’ सरकार भनेर कुटिल व्याख्या नगर्न पनि उनले आग्रह गरे।
भ्रमण उपलब्धिमूलक स्वदेश फर्केपछि प्रधानमन्त्रीबाट ओलीबाट जारी विज्ञप्तिमा ती मुलुकबीचको द्विपक्षीय सम्बन्ध थप विस्तार भएको र नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा थप उज्यालो भएको प्रधानमन्त्री ओलीले बताए। उनी समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा गत वैशाख २६ देखि ३० सम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकी आज स्वदेश फर्केका हुन्।
भियतनामसँग हवाई सम्झौता, आर्थिक, व्यापार र लगानी, पर्यटनका क्षेत्रमा सहकार्यका लागि गहन छलफल र सम्झौता भएको जानकारी उनले दिए। उनले आफूले भ्रमणका क्रममा गौतम बुद्धको जन्मस्थल र बौद्ध दर्शनको उद्गमस्थल नेपाल भएकाले लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजनाका लागि प्रस्ताव गरिएको पनि बताए।
ती मुलुक द्वन्द्वपछि विकासमा अग्रसर रहेको स्थितिमा नेपाललाई त्यहाँबाट सिक्ने मौका पाएको र नेपालले आफ्नो सफल शान्ति प्रक्रियाका बारेमा अन्तर्राष्ट्रिय जगतमा अवगत गराउन पाइएको बताए। (रासस)
२ जेष्ठ २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया