दाङ ।
चालू आर्थिक वर्षको वैशाख २५ गतेसम्ममा १५२ सवारी दुर्घटनामा परी दाङमा ८६ को मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मदन कुँवरका अनुसार ती दुर्घटनामा परी १८३ गम्भीर घाइते भएका छन् ।
ती दुर्घटनामा २०२ सवारी साधन संलग्न रहेका छन् । जसमा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल १०१, बस २८, ट्र्याक्टर १९ र जिप तथा कार २३ रहेका छन् ।
त्यस्तै टेम्पो १२, ट्रक १०, टिपर तीन, माइक्रोबस एक वटा रहेका छन् । दुर्घटना घट्नुका प्रमुख कारण चालकको लापरवाही रहेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । चालकको लापरवाहीका कारण सबैभन्दा बढी ८७, तीव्र गतिका कारण ५०, यात्रु गल्ती चार, मापसेका कारण चार, सडकको अवस्थाका कारण तीन, यान्त्रिक गढबढी दुई, सवारी उछिन्दा एक, मौसमका कारण एक रहेका छन् । गत वर्ष सो अवधिमा १०५ दुर्घटना हुँदा ५९ को मृत्यु भएको थियो ।
सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका सल्लाहकार एवं समाजसेवी विमल रिजालले दुर्घटनालाई न्यूनीकरण गर्नका लागि चालक गम्भीर बन्नुपर्ने बताउनुभयो । उहाँले जिल्लामा धेरै दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको बताउँदै उनीहरुलाई संवेदनशील हुन आग्रह गर्नुभयो ।
उहाँले बाटोको अवस्थाबारेमा चालक जानकार नहुने, तीव्र गतिमा गाडी चलाउने र आफ्ना सवारी साधन दुरुस्त अवस्था नराख्नेलगायतका कारणले दुर्घटना बढी हुने गरेको बताए ।
प्रतिक्रिया