१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

नेकपा प्रदेश कमिटीद्धारा सबै जिल्ला समितिलाई पूर्णता



बुटवल ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ५ ले प्रदेश मातहतका १२ वटै जिल्ला समिति गठन गरेको छ । जिल्ला कमिटी गठनपछि लामो समयसम्म अलमलमा रहेका नेता कार्यकर्ता उत्साहित बनेका छन् ।
बुटवलमा बसेको प्रदेशको दोस्रो पूर्ण बैठकले जिल्ला समितिलाई पूर्णता दिएको प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’ले जानकारी दिनुभयो ।
प्रदेश अध्यक्ष ओनसरी घर्तीको अध्यक्षतामा बसेको बैठकले यसअघि पार्टी केन्द्रले अनुमोदन गरेका जिल्ला अध्यक्ष र सचिवलाई सपथ गराउनुका साथै तत्कालीन एमाले र माओवादी केन्द्रले जिल्ला समिति सदस्यका लागि गरेका सिफारिस अनुमोदन गरेको थियो ।
चयन भएकालाई कमिटीहरुले फरक फरक मितिका सपथ ग्रहण गराउने तयारी भइरहेको छ । केन्द्रले पठाएको मापदण्ड अनुसार हरेक जिल्लामा १ सय २५ जिल्ला कार्यसमिति रहनेछ । तर, प्रत्येक निर्वाचन क्षेत्रबाट १० जना सदस्य पनि थपिने गरी कार्यसमितिको सदस्यहरुको संख्या निर्धारण गरिएको छ ।
प्रदेश सचिव जगप्रसाद शर्माका अनुसार प्रत्येक जिल्लामा १ सय २५ सदस्य बनाउने र प्रत्येक निर्वाचन क्षेत्रको आधारमा १० जना सदस्य वृद्धि गर्ने मापदण्ड अनुसार सदस्यहरुको संख्या ठूलो बनेको छ । जसअनुसार रुकुम, रोल्पा, अर्घाखाँची र प्यूठानमा १ सय ३५ जिल्ला सदस्य रहेका छन् ।
बदियाँ, पाल्पा, गुल्मी र नवलपरासीका १सय ४५ सदस्य र दाङ, बाँके, कपिलबस्तुमा १ सय ५५ सदस्य रहेका छन् । सवै भन्दा धेरै रुपन्देही जिल्लामा १सय ७५ जिल्ला सदस्य रहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७६ मंगलबार ००:००  ८ : ०४ बजे