१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

डढेलोले वन सखाप, नियन्त्रणका लागि आएको रकम गोष्ठिमै स्वाह !



सलिम अन्सारी, प्युठान ।
प्युठानमा बैशाखको पहिलो साताबाट सुरु भएको डढेलोले यहाँका वनमा क्षति पु¥याएको छ । जिल्ला वनका निमित्त कार्यालय प्रमुख दिपक केसीले यस वर्ष डढेलोका कारण हालसम्म प्युठानमा ३ हजार ८ सय ५१ हेक्टर भन्दा बढी वन क्षेत्रमा क्षति पुगेको बताउनुभयो ।
जिल्लामा ७८ हजार ४९ हेक्टर वन क्षेत्र रहेको छ । वन कार्यालय प्युठानका अनुसार यस वर्ष चुरे लगायतका ठूला र घना वनजंगल तथा दर्जनौं सामुदायिक वनमा डढेलो लागेको हो । लामो समय सम्म पानी नपर्दा बनक्षेत्रमा रहेका झाडी रुखका सुकेका पातमा आगो सल्किदा बढी डढेलोको प्रकोप खेप्नुपरेको केसीले बताउनुभयो ।
‘ठूला र घना वनमा डढेलो लागेको छ’ निमित्त बन प्रमुख केसीले भन्नुभयो,’डढेलोका कारण वन्यजन्तु तथा पंक्षीको बासस्थान नष्ट भएका छन् । अमूल्य जडिबुटी पनि खरानी भए,’ उहाले भन्नुभयो । जिल्लाको धेरैजसो बन क्षेत्रमा डढेलो लागेको छ । प्युठान भालुवाङ सडकखण्डका वनमा लहरै डढेलो लागेको देखिन्छ ।
डढेलोले सानाठूला सबै रुख जलेर नष्ट हुनुका साथै हरिया डाँडा पूरै काला देखिन्छन् । डढेलो नियन्त्रण गर्न वन उपभोक्ता समितिहरू र सुरक्षाकर्मीहरु सक्रिय भएर लागेको जिल्ला बनको भनाई छ । तर नियन्त्रण कार्य भने प्रभावकारी बन्न सकेको छैन् । बर्सेनी वनमा आगो लाग्छ, करोडौंका क्षति गरेर आफैं निभ्छ ।
डढेलो नियन्त्रणका लागि सरकारले वन कार्यालयमा ३ लाख बजेट पठाएको छ । तर, बजेट भने डढेलो नियन्त्रणभन्दा पनि अन्य शीर्षकमा नै बढी खर्च हुँदै आएको सरोकारवाला बताउँछन् । केही वर्षयता डढेलो नियन्त्रण शीर्षकमा गोष्ठी, छलफल र तालिम गरेरै बजेट सकिने गरेको छ । केसि ले दिनहुँ डढेलो निभाउन कर्मचारी सक्रिय रहेको दाबी गर्नुभयो । तर, वन कार्यालय तथा राजमार्ग छेउछाउ नै व्यापक रूपमा डढेलो लागेर वन सखाप भइसकेको छ । ‘सुरक्षाकर्मी, वन उपोभोक्ता समितीले आगो निभाउने काम गरिरहेका छन् उहाले भन्नुभयो ।’
वनमा आगो लगाउने एक जनालाई पनि वन कर्मचारीले नियन्त्रणमा लिन सकेका छैनन् । आगजनी गर्नेलाई पक्राउ गरी कारबाही गर्न सक्ने अधिकार भए पनि वन कर्मचारी यसमा चुकेको स्थानीय बताउँछन् । सामुदायिक वनमा डढेलो लाग्न नदिन सचेतनामुलक कार्यक्रम गर्दै आएको र बन उपभोक्ता समितीहरूले आगो निभाउँदै आएको सामुदायिक वन उपभोक्ता महासंघ प्युठानका अध्यक्ष दामोदर शर्माले बताउनुभयो ।’ भौगोलिक विकटता, उपकरण र बजेट अभावले अग्नि नियन्त्रणमा चुनौती थपिएको उहाको भनाई छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६ मंगलबार ००:००  ८ : १४ बजे