बुटवल ।
पाँच नम्बर प्रदेश परिषद्को दोस्रो बैठक बुटवलमा सुरु भएको छ । प्रदेश र स्थानीय तहमा बजेट निर्माणको तयारीका सन्दर्भमा परिषद् बैठक आयोजना गरिएको हो । परिषद् बैठकमा प्रदेशको आवधिक योजना र प्राथमिकताका विषयमा छलफल भएको छ । प्रदेशको योजनामा रहेर स्थानीय तहले बजेट कार्यक्रम निर्धारण गर्नेछन् ।
बैठकको उद्घाटन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आउँदो तीन वर्ष्भित्र प्रदेशको आर्थिक वृद्धिदर दुई अंकमा र्पुयाउने दाबी गरेका गर्नुभएको छ । उहाले तीन वर्षपछि प्रदेश ५ को आर्थिक वृद्धिदर सातवटै प्रदेशमध्ये सबैभन्दा अगाडि हुने दावी गर्नुभयो ।
तीन तहका सरकारको कामका कारण आर्थिक वृद्धिदर बढ्दै गएको भन्दै उहाले आगामी वर्ष राम्रो परिणाम ल्याउने गरी काम अघि बढाइने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले चालु आर्थिक वर्षमा पनि प्रदेश ५ ले आर्थिक वृद्धिदर ७.३७ प्रतिशत र्पुयाएर अन्य प्रदेशलाई उछिनेको बताउनुभयो ।
बजेट खर्चमा पनि प्रदेश ५ अन्य प्रदेशभन्दा अगाडि रहेको मुख्यमन्त्रीले बताए। अन्य प्रदेशले १५ प्रतिशत खर्च गर्दा प्रदेश ५ ले २५ प्रतिशत खर्च गर्न सकेको उनको भनाई छ। चालु आर्थिक वर्षमा गण्डकी प्रदेशले ७.०६, प्रदेश ३ ले ७.०४, प्रदेश २ ले ६.५३, प्रदेश १ ले ६.४९ र सुदूरपश्चिमले ६.२५ प्रतिशत आर्थिक वृद्धि गर्ने अनुमान गरिएको छ ।
संघीय संसद प्रभावकारी रुपमा अघि बढ्न नसक्दा र कानुन निर्माणमा ढिलाई गर्दा संघीयताको प्रभावकारी कार्यान्वयनमा समस्या भएको पनि मुख्यमन्त्रीले गुनासो गर्नुभयो ।
नदीजन्य पदार्थको उत्खनन् र करका सम्बन्धमा प्रदेशले कानुन बनाउने तर संघले निर्देशन दिंदा समस्या उत्पन्न् भएको उहाले खुलाउनुभयो । संघ, प्रदेश र स्थानीय तहबीच कतिपय विषयमा उचित समन्वय हुन नसकेको पनि मुख्यमन्त्री पोखरेलले बताउनुभयो । बैठकमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले प्रदेशको आवधिक योजना तयार भइसकेको र योजनामा आधारित रहेर बजेट ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।
उहाले आगामी ४ वर्षसम्मका लागि प्रदेशलाई १२ खर्ब रुपैयां लगानी आवश्यक रहेको बताए। बैठकमा प्रदेशका सभामुख, प्रदेश सरकारका मन्त्री, १ सय ९ तहकै प्रमुख र उपप्रमुख, १२ जिल्लाकै जिल्ला समन्वय समिति संयोजक, मन्त्रालयका सचिव तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ ।
३० बैशाख २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया