१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

सडक दुर्घटना अपडेटः बसले ठक्कर दिदा गएराती दुई जनाको मृत्यु भएको पुष्टि



मायादेवी अनलाइन, तौलिहवा ।
जीतपुर–चारनम्बर सडकखण्डमा गएराती मोटरसाइकल दुर्घटनाबाट नभई बसको ठक्करबाट युवकको मृत्यु भएको पुष्टि भएको छ । गएराती जीतपुरबाट सदरमुकाम तौलिहवातर्फ आउँदै गरेको लु ९ प ४६६४ नम्बरको मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको थियो । दुर्घटनामा कपिलवस्तु नगरपालिका–६ रामापुरका ३२ वर्षीय शेषराम यादव र मायादेवी गाउँपालिका–७ रतनपुरका ४० वर्षीय सर्वजित यादवको घटनास्थलमा मृत्यु भएको हो ।
नेपालगञ्ज–नारायणगढ सडकखण्डमा चल्ने लु १ ख ८३९४ नं. को बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटना भए लगत्तै प्रहरीले चार ओटा बसलाई नियन्त्रणमा लिएको थियो । दिनभरको प्रहरी अनुसन्धानबाट बस पत्ता लागेको हो । बसको टाएरमा रगत र टाउकोको गिदी टासिएको आधारमा बस पत्ता लागेको प्रहरीको भनाई छ । यो बस कपिलवस्तुको मर्यादपुरमा जन्ति छोड्न आएको हो ।

दुर्घटनाको दृश्य विभत्स थियो । प्रहरीले सुरुमा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको बताएको थियो । सोमबार दिउँसो मृतकका आफन्त र स्थानीयले सवारीको ठक्करबाट ज्यान गएको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रर्दशन गरेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७६ सोमबार ००:००  ६ : १८ बजे