भैरहवा ।
रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सबै काम ठप्प भएको छ । आयोजना निर्माणको जिम्मा पाएको चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन कम्पनीले भुक्तानी नपाएपछि सबै काम आइतबारदेखि ठप्प पारेको हो ।
नागरिक उड्डयन प्राधिकरण तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कागजी प्रक्रियामा ढिलाइ गरेपछि भुक्तानीमा ढिलाइ भएको थियो । जसका कारण आइतबारदेखि ठेकेदार कम्पनीले काम रोकेको हो ।
आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार रकम अभाव भएपनि अहिले ठूला काम सबै रोकिएको र अन्य साना काममात्रै सुचारु भएको बताए । ‘एक महिना अघि नै भुक्तानीका लागि पत्र पठाइएको थियो । तर, एसियाली विकास बैंकमा पत्र पठाउन मन्त्रालयले ढिलाइ गर्दा समस्या आएको हो,’ अधिकारीले भने ।
मन्त्रालयले ठेकेदार कम्पनीलाई २० करोड रुपैयाँ भुक्तानी तत्काल दिनुपर्ने छ । पर्यटन मन्त्रालय र अर्थमन्त्रालयबीच समन्वय नहुँदा भुक्तानीमा समस्या आएको हो । केही साताअघि बुटवल उपमहानगरपालिकाले ढुंगा गिट्टीमा पनि रोक लगाएको थियो । यसरी सबैतर्फ अवरोध हुँदा आयोजना समयमा सम्पन्न हुनेमा आंशका उब्जिएको आयोजना प्रमुख अधिकारीले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा असार ५ गतेदेखि विमानस्थल सञ्चालनमा आउने घोषणा गरिसकेका छन् । केही दिनको ढिलाइले ६ महिना विमानस्थल सञ्चालनको काम धकेलिन सक्ने उनले बताए । राष्ट्रिय गौरवका १९ आयोजनामध्ये भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलमा लक्ष्यभन्दा पनि बढी रकम खर्च भएको छ ।
२९ बैशाख २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया