मनिष गुप्ता, कृष्णनगर ।
कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर नयाँ भवनमा औपचारिक रुपमा सरेको छ । निकै साघुँरो ठाउँबाट कार्यालय सञ्चालन गर्न बाध्य कृष्णनगर प्रहरी भर्खरै निर्माण गरिएको आफ्नै नयाँ भवनमा सरेको हो । आइतबार प्रहरी प्रधान कार्यलय प्रशासन तथा मानव स्रोत बिकास प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक ठुले राईले कार्यालयको उद्घाटन गर्नुभयो ।
कार्यालय उद्घाटन गर्दै राईले जनतालाई मुस्कान सहितको सेवा दिने नेपाल प्रहरीको कर्तव्य भएको भन्दै प्रहरी समाज संग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो । नेपाल भारत खुल्ला सिमानाका भएकोले चोरी पैठारी बढेको हुन सक्ने भन्दै राईले प्रहरीको साथसाथै नेपाली जनताको पनि त्यसलाई रोक्ने काममा सहकार्य गर्न आग्रह गर्नुभयो ।
कृष्णनगर नगरपालिकाले नेपाल प्रहरी जवानको ब्यारेक बनाउनका लागि रकम छुट्टयाएको सुन्नमा आएको भन्दै अपुग रकम बिभागले दिने जानकारी दिनुभयो ।
कार्यक्रममा युनओपिसका प्रतिनिधि यादव अधिकारी, ५ नम्बर प्रदेश प्रहरी नायव महानिरिक्षक पिताम्बर अधिकारी, कृष्णनगरकी उपप्रमुख शबनम खातुन लगायतले मन्तव्य राख्नुभएको थियो । भवन २ करोड ४४ लाखमा निर्माण सम्पन्न भएको हो ।
कार्यक्रममा ५ नं. प्रदेश प्रहरीका प्रहरी निरिक्षक सुमन दाहालले प्रतिबेदन पेश गर्नुभएको थियो भने इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुर्य बहादुर बोगटीले सञ्चालन गर्नुभएको थियो ।
प्रतिक्रिया