एजेन्सी,
पाँच एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई १२ रनले पराजित गर्दै रोमाञ्चक जित दर्ता गरेको छ। शनिबार राति सम्पन्न भएको हाइस्कोरिङ खेलमा ३७४ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३६१ रनमात्र जोड्न सक्यो। पाकिस्तानका ओपनर फकार जमानले सानदार शतक प्रहार गरे पनि टोलीको हार टार्न सकेनन्। ओडीआई करिअरको चौथो शतक प्रहार गरेका जमानले १०६ बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै १३८ रनको योगदान दिए। जमानलाई ३३ ओभरको अन्तिम बलमा क्रिस वोक्सले आउट गरेपछि पाकिस्तान दबाबमा परेको थियो। विशाल स्कोरमा पुर्याउन पाकिस्तानका अन्य खेलाडीको योगदान पनि राम्रो रह्यो। आसिफ अलीले ३६ बलमा ४ छक्का र २ चौका सहित ५१, ईमाम उल हक ३५, बाबर आजम ५१ रन बनाउँदै अर्धसतकीय इनिङ खेले। त्यस्तै ह्यारिस सोहेल १४ रनमा आउट हुँदा कप्तान सरफराज अहमद ४१ रनमा अविजित रहे। इंग्ल्यान्डका लागि डेविड विल्ली र लियाम प्लन्केटले समान २-२ विकेट लिए। त्यस्तै क्रिस वोक्स, मोइन अली र आदिल राशिदको नाममा समान १-१ विकेट रह्यो। त्यसअघि साउथह्यामटनमा टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ३ विकेटको क्षतिमा ३७३ रन बनाएको थियो। इंग्ल्यान्डका लागि म्यान अफ द म्याच घोषित जोस बटलरले विस्फोटक शतक प्रहार गरे। उनी ५५ बलमा ९ छक्का र ६ चौका प्रहार गर्दै ११० रनमा अविजित रहे। बटलरले ५० बलमै शतक पुरा गरेका थिए। त्यस्तै कप्तान इएन मोर्गन ४८ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ७१ रनमा नट आउट रहे। चौथो विकेटका लागि मोर्गन र बटलरले ९३ बलमा १६२ रनको अविजित साझेदारी गरेपछि इंग्ल्यान्डले विशाल स्कोर तयार पारेको थियो। ओपनर जेसन रोयले ९८ बलमा ३ छक्का र ६ चौका सहित ८७ रन बनाउँदा अर्का ओपनर जोनी ब्यारिस्टो ५१ र जो रुट ४० रनको योगदान दिए। पहिलो विकेटका लागि ओपनर रोए र ब्यारिस्टोले १९ ओभरमा ११५ रनको शतकीय साझेदारी गरेका थिए। पाकिस्तानका लागि हसन अली, यासिर शाह र शाहिन अफ्रिदीले समान १-१ विकेट हात पारे। योसँगै इंग्ल्यान्डले पाँच ओडीआई सिरिजमा १–० को अग्रता लिएको छ। पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो। तेस्रो एकदिवसीय खेल आगमी मंगलबार हुने छ।
Read more at: http://thahakhabar.com/news/69002
प्रतिक्रिया