१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

कृषिमन्त्री कै गृह जिल्लाबाट अवैध मल बरामद, दुई ट्रक सहित १३२ टन मल नियन्त्रणमा



मायादेवी अनलाइन, चन्द्रौटा ।
रसायनिक मलको देशैभर हाहाकार मच्चिरहेको बेला कपिलवस्तुमा १ सय ३२ टन चाईनिज युरिया मल फेला परेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालकै गृह जिल्लाको पश्चिमी क्षेत्र शिवराज नगरपालिका– ७ स्थित २ वटा प्लाई उड उद्योगमा झार्न लागेको मल स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । अनुदानको मल दुरुपयोग गरेर उद्योगमा शनिवार बिहान ट्रकबाट झार्न लागिएको अवस्थामा सो मल फेला पारिएको हो ।
जिल्ला प्रहरीले सो मल सहीत ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले पशुपति प्लाई र जय अम्बे प्लाई उद्योग परिसरबाट ६ वटा भारतीय मालबाहक ट्रक सहीत सो मल नियन्त्रणमा लिइएको हो । कृषि प्रयोजनका लागि प्रयोग हुने चाईजिन युरिया मल ती दुई उद्योगमा भित्राईएको बिशेष सुचनाका आधारमा स्थानीय प्रशासनको निर्देशन पछि मल नियन्त्रणमा लिईएको ईलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख जगदीश अर्यालले बताए ।
उद्योगका संचालकहरुलाई सो बिषयमा फाईल र आवश्यक कागजातहरु सहीत प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिईएको प्रजिअ पोख्रेलले बताए । ती दुबै उद्योगमा ५० केजीका १३ सय २० बोराका दरले मल भित्राईएको हो । पशुपति प्लाई उद्योगमा एनएल ०१ एबी ५४४८, एनएल ०१ एबी १७३८ र डब्लु बि ११ टी ७००५ नम्बरको मालबाहक ट्रकमा मल ल्याईएको थियो ।
यस्तै जय अम्बेमा एनएल ०१ जी ७५१२, एनएल ०१ जी ६२१२ र एनएल ०१ एबी १७४८ नम्बरको मालबाहक ट्रकमा मल भित्राईएको थियो । ईलाका प्रशासन चन्द्रौटाका प्रमुख अर्याल अनुसार जय अम्बेमा ट्रकबाट ४ सय ४० बोरा र पशुपतिमा ६ सय बोरा मल गोदामामा झरि सकिएको थियो । मल राखिएको गोदाममा शीलबन्दी गरिएको उनले बताए । झर्न बाकी रहेको मल र ट्रकलाई वडा प्रहरी कार्यालय चन्द्रौटामा नियन्त्रणमा राखिएको उनले बताए ।
उता पुशपति प्लाईका संचालक अशोक अग्रवालले आफुहरुले सबै प्रकृया पुरा गरेर चिनको संघाईबाट भारतका कलकत्ता हुँदै सुनौली नाकाबाट सो चाइनिज मल ल्याएको दाबी गरे ।

प्रकाशित मिति : २८ बैशाख २०७६ शनिबार ००:००  ७ : ०८ बजे