१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

एकताको सन्देश दिन समाजवादी पार्टीले प्रदेशका मुख्य शहरमा आमसभा गर्ने



काठमाण्डौ ।
नवगठित समाजवादी पार्टीले एकताको सन्देश दिन सातवटै प्रदेशका मुख्य शहरमा आमसभा गर्ने भएको छ । पार्टी एकताको सन्देशका साथै अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार विराटनगर, पोखरा, जनकपुर वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढीमा गरिने कार्यक्रमलाई पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद्का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सम्बोधन गर्ने गरी कार्यक्रम तय गरिएको छ ।
कार्यक्रम तालिकाअनुसार आगामी जेठ ११ गते विराटनगर, १२ गते जनकपुर, १३ गते वीरगञ्ज, १७ गते भैरहवा, १८ गते नेपालगञ्ज, १९ गते सुर्खेत, २१ गते धनगढी र २५ गते पोखरामा सम्बोधन गर्ने कार्यक्रम छ । काठमाण्डौमा भने पार्टी एकीकरणको दिनलाई नै आधार मानिने सहअध्यक्ष श्रेष्ठले बताउनुभयो ।
पार्टी एकीकरणपछि भएको पहिलो पदाधिकारी बैठकले काठमाण्डौसहित देशका आठ शहरमा कार्यक्रम गर्ने निर्णय गरेको थियो । यही वैशाख २३ गते सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकीकरण भई नयाँ समाजवादी पार्टी घोषणा गरिएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७६ शनिबार ००:००  ४ : ३६ बजे