१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

दाङमा दुई हप्तामा ३७ ठाउँमा वन डढेलो



दाङ ।
पछिल्लो दुई हप्तामा दाङका ३७ स्थानका वनमा डढेलो लागेर १ हजार ५ सय ४८ हेक्टर वनक्षेत्रमा क्षति पुगेको छ ।
डिभिजन वन कार्यालय दाङका अनुसार ३६ वटा सामुदायिक वन र एउटा रािष्ट्रय वन क्षेत्रमा आगो लागेको छ । चुरे र महाभारत क्षेत्रमा वन डढेलोको धेरै लागेको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत एंव सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । दाङका एक दर्जन बढी वन क्षेत्रमा अहिले पनि आगो लागिरहेको छ ।
यो वर्ष घोराही उपमहानगरपालिका र बबइ गाउँपालिकाको चुरे वन क्षेत्रमा वन डढेलो बढ्दो छ । डढेलोबाट वनस्पति र वन्यजन्तु नाश भएको छ । बढ्दो गर्मीका कारण एक ठाउँमा डढेलो लाग्ने र तीव्र हावाले डढेलो फैलाउने भएकाले नियन्त्रणमा लिन अप्ठेरो भएको डिभिजन वन कार्यालयको भनाइ छ ।
वनमा रहेको खर कागज उद्योगले लैजान बन्द गरेको र सचेतनाको अभावका कारण वन डढेलो फैलिएको वन डिभिजन कार्यालय दाङले जनाएको छ ।
वन डढेलो फैलिएर गाउँमा पस्दा वनको बीचमा रहेको घोराही उपमहानगरपालिका-१, को मालेगाँउ र सिरुखर्कका दुइ दर्जनभन्दा बढी घरगोठ जलेर नष्ट भएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७६ शनिबार ००:००  ८ : २४ बजे