मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाको मुख्य व्यापारिक केन्द्र्र चारनम्बर क्षेत्रको बजार अनुगमन गरिएको छ । बढ्दो शहरीकरण संगै बजारहरुको नियमन गर्न सरकारी निकायले अनुगमन बढाएको हो । उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै बजारका पसलहरु कानुन वमोजिम संचालन भए नभएको बारे जानकारी लिन सरकारी तवरबाट संयुक्त अनुगमन गरिएको हो । बजार अनुगमनका क्रममा चारनम्बर बजारकै अग्रभागमा रहेका पसलहरु मापदण्ड विपरित संचालन भएको पाइएको छ । अनुगमन टोलीले चारनम्बर बजारका २६ वटा पसलहरुमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा पसलहरुमा मूल्यसूची नभेटिएको, घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता नविकरण नभएको, अनुमती नभएका वस्तुहरुको विक्री वितरण भइरहेको र सरसफाई नभएको पाइएको छ ।
अनुगमन टोलीले चारनम्बर बजारका तरकारी तथा फलफुल पसल, मदिरा, होटल तथा किराना पसल, फेन्सी, सुनचाँदी पसल, डेण्टल, भेटनरी लगाएतका पसल अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा विक्रीका लागि राखिएका उपभोग्य खाद्य बस्तुमा उत्पादन मिति समेत नरहेको पाइएको थियो । मापदण्ड विपरित संचालनमा रहेका ती पसलहरुलाई पहिलो पटक सचेत गराउदै मौखिक जानकारी गराइएको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख राजन केसीले बताउनुभयो । आगामी दिनमा अटेरी गरी पसलहरुलाई यथावत संचालन गरे लिखित पत्राचार गरी कार्वाही प्रकृया अघि बढाउने उहाँले बताउनुभयो ।
अनुगमनमा टोलीमा वाणगंगा नगरपालिकाका उपप्रमुख चक्र अर्याल, ईलाका प्रशासन कार्यालय वाणगंगाका प्रमुख विक्रम शर्मा, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजन केसी, वाणगंगा नगरपालिकाका अधिकृत केशव भट्टराई, छविलाल पौडेल, अग्नीधर पोख्रेल, संचारकर्मी लगाएतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया